जलेश्वर बजार बन्द

काठमाण्डु टुडे २०७० मंसिर २५ गते ५:०६ मा प्रकाशित

गौशाला, २५ मंसिर–प्रहरीले सामान बरामद गरेको विरोधमा महोत्तरी सदरमुकाम जलेश्वर बजार मंगलबार स्थानीयले बन्द गराएका छन् । गएराति एक जनकपुरबाट जलेश्वर आउने क्रममा प्रहरीले जलेश्वरस्थित सन्तोष किराना स्टोर्सका सरसामान सलहेश मन्दिर अगाडि अवैध भन्दै समातेको विरोधमा बिहानैदेखि स्थानीय बासिन्दाले जलेश्वर बजार बन्द गराएका हुन् ।

सन्तोष किराना स्टोर्सले ट्रकमा ल्याउँदै गरेको मैदा, साबुन, सुपारीलगायतका सरसामान र सोको भ्याट बिलसमेत सँगै रहेको भए तापनि निर्वाचन कार्यालयको सुरक्षामा खटेका एक प्रहरीले जबरजस्ती ट्रक रोकेर अवैध सामान भन्दै जिल्ला प्रहरीमा बुझाएका थिए । निज प्रहरीले रक्सी सेवन गरी भ्याट बिलसहितको सामान समातेको सम्बन्धित व्यापारीको आरोप रहेको छ ।

सो समस्याबारे मंगलबार विहान जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष रामकपुर साह, महासचिव कृपाशंकर साहलगायतका दर्जनभन्दा बढी व्यक्ति गएर प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया र प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठलाई जानकारी गराउँदा बेवास्ता गर्दै १० बजेपछि आउनु भनेपछि आक्रोशित समूहले बजार बन्द गरी आन्दोलन सुरु गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us