प्रचण्ड र राष्ट्रसंघ नेपाल प्रमुखबीच भेटवार्ता

काठमाण्डु टुडे २०७० मंसिर २५ गते ४:२७ मा प्रकाशित

Prachand-and-goldrikकाठमाण्डु, २५ मंसिर– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका नेपाल प्रतिनिधि जेमी म्याक गोल्डरिकबीच मंगलबार विहान भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा भएको छलफल समसामयीक राजनीतिक परिस्थितिमा केन्द्रित थियो ।

छलफलमा गोल्डरिकले संविधानसभामा सहभागीताबारे जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले शान्ति र संविधान निर्माण प्रक्रियामा आफूहरु सँधै प्रतिबद्ध रहेको स्पष्ट पारेको भेटमा सहभागी नेता बर्षमान पुनले जानकारी दिए । ‘संविधानसभा र नयाँ संविधान एमाओवादीकै एजेण्डा भएकाले त्यसको लागि सँधै तयार छौं,’ प्रचण्डको भनाइ उद्धृत गर्दै नेता पुनले भने, ‘तर, निर्वाचनमा भएको धाँधली छानविन प्रक्रिया शुरु हुनु पर्छ ।’

भेटमा गोल्डरिकले नेपालमा छिटो संविधान बनेर राजनीतिक स्थीरता देख्न संयुक्त राष्ट्रसंघ आतुर रहेको भन्दै सहमति र सहकार्यबाट अघि बढ्न प्रचण्डलाई आग्रह गरेका थिए ।

धाँधली छानविन प्रक्रिया शुरु नभएसम्म संविधानसभामा नजाने अडान राख्दै आएको एमाओवादीले पहिचान सहितको संघीयता र संघियता सहितको संविधानका लागि संघर्ष शुरु गर्ने घोषणा गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us