फिफा वर्ष खेलाडीको दावेदार रोनाल्डो, रिभेयरा र मेस्सी

काठमाण्डु टुडे २०७० मंसिर २५ गते २:४१ मा प्रकाशित

Ronaldo, Ribery & Messiकाठमाण्डु, २५ मंसिर–यस वर्षको फिफा वर्ल्ड प्लेयर अफ द एयर बालोन डे ओरको लागि सम्भावित तीन खेलाडीको सूची सार्वजनिक भएको छ  । यस पटकको अन्तिम सूचीमा लगातार चार पटकका विजेता अर्जेन्टीनाका लियोनेल मेस्सी, पोर्चुगलका क्रिस्चियानो रोनाल्डो र फ्रान्सका फ्रान्क रिभेयरी चुनिएका छन् ।

फिफा प्यलेयर अफ द एयर अवार्ड बालोन डि ओर अर्थात गोल्डन बल भएपछि सन् २०१०, ११ र १२ गरि लगातार तीन पटक र त्यस अघि सन् २००९ मा एकपटक गरि पछिल्लो लगातार चारपटक अर्जेन्टिनाका खेलाडी लियोनेल मेस्सीले यो पुरस्कार जितेका थिए । लगातार चार पटक वर्ष खेलाडी बन्ने लियोनेल मेस्सी एक मात्र खेलाडी हुन् । उनी बाहेक फ्रान्सका जेनेदिन जिदान र ब्राजीलका रोनाल्डो ३–३ पटक फुटबलका वर्ष खेलाडी बनेका छन् । ब्राजीलकै रोनाल्डिनो दुई पटक पुरस्कार जित्ने अर्का खेलाडी हुन् । सन् १९९१ देखि दिन थालिएको वर्ष खेलाडी पुरस्कार पहिलो पटक जर्मनीका लोथार म्याथ्युजले जितेका थिए ।

यस पटकको पुरस्कारकालागि २३ जना सम्भावित खेलाडीको सूचीबाट अन्तिम तीन खेलाडीको सुची चुनिएको हो । यस वर्ष रियल म्याड्रिड र पोर्चुगलका खेलाडी क्रिस्चियानो रोनाल्डोलाई पुरस्कारको प्रमुख दावेदार मानिएको छ । यस पटक पुरस्कार जीते रोनाल्डोको यो दोस्रो पुरस्कार हुने छ । यसअघि सन् २००८ मा पनि रोनाल्डो उत्कृष्ट वर्ष खेलाडी भएका थिए । त्यसबेला उनी म्यानचेस्टर युनाईटडबाट खेल्थे । म्यानयुबाट उपाधी जित्ने उनी एक मात्र खेलाडी हुन् । पोर्चुलगका तर्फबाट भने उनी बाहेक लुईस फिगोले पनि उत्कृष्ट वर्ष खेलाडी भई सकेका छन् ।

सन् २०१० मा फ्रान्सले दिने बालोन डी ओर र फिफा वर्ष खेलाडी पुरस्कारलाई गाभेर बालेन डी ओर कायम गरिएको हो । महिला तर्फको पुरस्कारलाई मात्र अहिले वर्ष खेलाडी पुरस्कार भनिन्छ । यस पटकको महिला वर्ष खेलाडीकालागि जर्मनीकी नादिया एङेरर, ब्राजीलकी मार्ता र अमेरिकाकी एबे वाम्बाच अन्तिम सूचीमा परेका छन् । यसअघि ब्राजीलकी मार्ताले सन् २००६ देखि १० सम्म गरि लगातार ५ पटक यो पुरस्कार जितिसकेकी छिन् भने अमेरिकाकी वाम्बाचले गत वर्ष एकपटक पुरस्कार हात पारेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us