माओवादीका कार्यकर्ता धरौटीमा रिहा

काठमाण्डु टुडे २०७० मंसिर २५ गते २:३० मा प्रकाशित

चितवन २५ मंसिर– चितवनको नारायणगढ–मुग्लीन सडक खण्डको कविलासमा गुडीरहेको बसमा पेट्रोल बम प्रहार गरेको अभियोगमा पक्राउ परेका नेकपा–माओवादीका एक कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ । गत कात्तिक २६ गते सो घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका शक्तिखोरका २८ वर्षीय छलाङ उपनामका नविन विसीलाई प्रहरीले धरौटीमा रिहा गरेको हो ।

यही मंसिर २ गते भरतपुर नगरपालिका १२ टाउनबाट विसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । राज्य समिति सदस्य रहेका उनलाई विष्फोटक पदार्थ ऐन तथा हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाइएको थियो । अदालतले विष्फोटक पदार्थ ऐन अन्तर्गत पाँच हजार रुपैयाँ धरौटीमा छाडे पनि उनीमाथी चलाइएको हातहतियार तथा खरखजना ऐन अन्तर्गतको मुद्दा भने जिल्ला प्रशासन कार्यालय चितवनमा विचाराधिन छ ।

विसीलाई सर्लाहीबाट काठमाण्डु जाँदै गरेको ना ४ ख ४७३४ नम्मरको यात्रुबाहक बसमा पेट्रोल बम प्रहार र भरतपुरको रामनगर स्थित टंकनाथ न्यौपानेको घर अगाडी बम राखेको अभियोग छ । निर्वाचन विरोधी गतिविधिमा संग्लन भएको अभियोगमा पक्राउ परेका अन्य भने यसअघि नै रिहा भईसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us