उच्चस्तरीय समितिबाट विवाद मिलाउने सहमति

काठमाण्डु टुडे २०७० मंसिर २५ गते १४:३५ मा प्रकाशित

Meeting-Finalकाठमाण्डु, २५ मंसिर– प्रमुख तीन दल सबै विवादलाई उच्चस्तरीय राजनीतिक समितिमार्फत् टुंगो लगाउन सहमत भएका छन् । शान्ति कोषको सचिवालय बबरमहलमा मंगलबार विहान बसेको नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीको बैठकमा सरकार गठन, संविधान निर्माण लगायतका सबै बिषय सहमतिको आधारमा टुंगो लगाउने निर्णय भएको हो ।

बैठकमा भएको सहमति अनुसार बुधबार विहान ९ बजे उच्चस्तरीय समितिको बैठक बस्ने छ ।

काँग्रेस उपसभापति रामचन्द्र पौडेलले उच्चस्तरीय राजनीतिक समितिबाट सबै समस्या समाधान गर्न सबै प्रतिबद्ध रहेको बताए । उनले सहमतिको प्रयासमा वार्ता र संवादलाई जारी राख्ने बताए ।

चुनावमा भएको धाँधली छानविन नभएसम्म संविधानसभामा सहभागी नहुने अडान राखेको एकीकृत माओवादीलाई सहमतिमा ल्याउने प्रयासमा मंगलबार मुख्य तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बसेको थियो।

बैठकमा एकीकृत माओवादीले धाँधली छानविन गर्नुपर्ने अडान कायम राखेको थियो भने काँग्रेस–एमालेले शंका लागे संविधानसभा अदालत जान सुझाव दिएका थिए ।

बैठकमा काँग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्ण प्रसाद सिटौला सहभागी छन् । यसैगरी नेकपा एमालेबाट अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोख्रेल तथा एमाओवादीबाट अध्यक्ष प्रचण्ड, नेताहरु बाबुराम भट्टराई लगायत नेताहरु सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us