
काठमाण्डु, २४ मंसिर– अखिल नेपाल फुटबल संघको आयोजनामा राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि सुरु भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको छ ।
दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा समूह ‘ए’ को विजेता आर्मीले समूह ‘ख’ को उपविजेता हिमालयन शेर्पा क्लबलाई ५–२ फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
आर्मीका लागि राजु तामाङले खेल सुरुवातीको २२ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । यस्तै आर्मीका अर्का खेलाडी टेकबहादुर बुढाथोकीले दुई गोल थपे । उनले खेलको दोस्रो हाफको ५१ र ७१ औँ मिनेटमा गोल गरे । त्यसैगरी टंक बस्नेतले पनि खेलको ५८ र ८८ औँ मिनेटमा दुई गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गरे ।
हिमालयन शेर्पाका लागि पुकार गहतराजले खेलको दोस्रो हाफको ५५ औँ मिनेटमा एक गोल फर्काए भने हिमालयनका अर्का विदेशी खेलाडी सेगुन इतायोले खेलको ७५ औँ मिनेटमा एक गोल गर्दै क्लबलाई दोस्रो अग्रता दिलाएका थिए । हारसँगै हिमालयन शेर्पा प्रतियोगितबाट बाहिरिएको छ ।
मंगलबार दिउँसो २ बजे समूह ‘ख’ को बिजेता मछिन्द्र क्लब र समूह क को उपबिजेता सङ्कटा क्लबवीच प्रतिस्पर्धा हुनेछ ।