
काठमाण्डु, २४ मंसिर– सोमबारदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकमा पार्टीको नवौं महाधिवेशनका विषय उठेको छ । समानुपातिकका सभासद चयनको मापदण्ड बारे छलफल गर्दै एमालेले महाधिवेशन मिति तय गर्नुपर्ने विषयमा छलफल भएको हो ।
सोमबार दिउँसो केहीबेरका लागि बैठक स्थगन भएको बेला बैठकबारे पत्रकारलाई जानकारी दिँदै एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रदीप ज्ञवालीले निर्वाचनपछिको समीक्षा, समानुपातिक सभासद् चयनको मापदण्ड तर्जुमा, महाधिवेशनको मिति तय, संविधान लेखन र सरकार गठनका लागि भइरहेका राजनीतिक वार्ता आदि विषयमा छलफल सुरु भएको जनाए ।
यही मङ्सिर २१ गतेको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठकका लागि समानुपातिका सभासदको मापदण्ड निर्धारण, संविधानसभा निर्वाचन–२०७० का सन्दर्भमा धन्यवाद ज्ञापन, संविधानसभा निर्वाचन–२०७० को समीक्षा गरी प्रतिवेदन पठाउन स्थानीय पार्टी कमिटीलाई निर्देशन, वर्तमान राजनीतिक परिस्थिति र पार्टीले गर्नुपर्ने कामलगायत कार्यसूची तय गरेको थियो ।