चितवनमा एकै दिनदेखि चार अस्पताल बन्द

काठमाण्डु टुडे २०७० मंसिर २४ गते ९:१५ मा प्रकाशित

hospitalचितवन, २४ मंसिर– कानुन बमोजिम प्रक्रिया नपुर्‍याइएका र अन्य मापदण्ड पूरा नगरेका चितवनका चारवटा निजी अस्पताल सोमबारदेखि बन्द भएका छन् ।

भरतपुरको अस्पताल रोडमा रहेको ओम अस्पताल, एडभान्स अस्पताल, भरतपुरकै वीरेन्द्र क्याम्पस रोडमा रहेको ओएसिस मेडिकल कलेज र पर्सामा रहेको परोपकार अस्पताल बन्द भएको हो । दर्ता नभएका, नवीकरण नगर्ने र अन्य मापदण्ड पूरा नगरेपछि ती अस्पताललाई जिल्ला जनस्वास्थ्य कार्यालयले बन्द गराएको हो ।

स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाबाट आएको टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासनका प्रतिनिधिको रोहबरमा गरेको अनुगमनका क्रममा ती अस्पतालले प्रक्रिया पूरा नगरेको पाइएपछि बन्द गराइएको जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख केहरसिंह गोदारले बताए ।

मापदण्ड पूरा नभएको भन्दै जिल्ला जनस्वास्थ्यलाई  महाशाखाले कात्तिक २४ गते पत्राचार गरेको थियो । प्रमुख गोदारले अस्पतालमा रहेका बिरामीलाई तीन दिनभित्र अन्य अस्पतालमा सार्न र प्रक्रिया पूरा गरेर मात्र अस्पताल पुनः सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us