
काठमाण्डु, २४ मंसिर । उपराष्ट्रपति परमानन्द झाले पदमा बसिरहने आफ्नो चहाना नभएको भन्दै संविधान निर्माण चाहना भएको बताएका छन् ।
उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपतिको कार्यकाल लम्बिन्छ भन्ने त्रासभन्दा पनि संविधान बनाउनु नै प्रमुख काम हो, यो पदमा लम्बिएर बस्ने हाम्रो चाहना छैन ।’ आफ्नै निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति झाले पहिलो राष्ट्रपति भएकोले अहिलेकै राष्ट्रपतिको कार्यकालमा संविधान आउँदा पहिलो राष्ट्रपतिको कार्यकालको सार्थकता रहने उल्लेख गरे ।
निर्वाचनको ताजा जनादेशबाट आएका दलले संविधान बनाउने कामलाई पहिलो प्राथमिकता दिएर निर्वाचन परिणाममा असन्तुष्ट एमाओवादी र निर्वाचनमा भाग नलिएको नेकपा– माओवादीसहितका दललाई संविधान निर्माणमा ल्याउनुपर्नेमा उनले जोड दिए ।
अहिलेको राष्ट्रपतिको पदावधि संविधान नबनुन्जेलका लागि लेखिएको बताउँदै झाले भने, ‘त्यसका लागि संविधान संशोधन नगरी दोस्रो संविधानसभाबाट निर्वाचन हुन्छ भन्ने किसिमबाट स्पष्ट व्यवस्था नगरेर कसरी अगाडि बढ्ने, त्यसका लागि संविधानको सम्बन्धित धारा संशोधन हुनुपर्यो नि त ।’
केही दलबाट नयाँ संविधानसभाले पुराना राष्ट्रपतिलाई नचिन्ने भनि दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उपराष्ट्रपतिले भने, ‘जेठी श्रीमतीको छोरा छोरीको अस्तित्वलाई उसको मृत्यू पछि आउने कान्छी श्रीमती नस्विकार्ने कुरा हुँदैन । अहिलेको प्रश्न त्यही हो जेठी श्रीमतीका छोरा छोरीलाई कान्छीले चिन्ने कि नचिन्ने ? अहिलेको संविधान कान्छी श्रीमती जस्तै हो । यस्तो सोच राख्नु हुन्न । जेठीको छोरा छोरीलाई चिन्नुपर्छ ।’