विधानसभा चुनावपछि दिल्लीमा संकट

काठमाण्डु टुडे २०७० मंसिर २४ गते ६:२० मा प्रकाशित

india bjp and congressकाठमाण्डु, २४ मंसिर–भारतमा गत बुधबार भएको विधानसभा चुनावको सबै परिणाम सार्बजनिक भएको छ । तर, चुनावबाट कुनै पनि पार्टीले बहुमत ल्याउन सकेका छैनन् । चुनावबाट भारतीय जनता पार्टी (भाजपा) ले सबैभन्दा धेरै सिट जितेको छ । एक बर्ष अघि मात्रै गठन भएको आम आदमी पार्टीले समेत सत्तारुढ काँग्रेस पार्टीलाई नराम्रोसँग पराजित गरेको छ । राजधानी नयाँदिल्लीमा काँग्रेस तेस्रो स्थानमा झरेको छ ।

तत्कालको अवस्थामा यी तीन दल मिलेर सरकार बनाउन तयार छैनन् । यि तीन दल बाहेक अरु दलले पाएको सिट संख्या जोड्दा पनि बहुमत पुग्ने अवस्था छैन । यस्तो अवस्थामा दिल्लीमा अब के होला ? कस्तो सरकार बन्ला भन्ने खुल्दुली शुरु भएको छ ।

चुनावी परिणाम हेर्दा ७० सिट रहेको दिल्ली विधानसभामा सबैभन्दा ठूलो दल भाजपाले ३१ स्थानमा जित हात पारेको छ । चामत्कारिक रुपमा दोस्रो ठूलो बन्न सफल आम आदमी पार्टीले २८ सिट जितेको छ भने तेस्रो स्थानमा चित्त बुझाउन बाध्य काँग्रेसले ८ सिट मात्र जितको छ । यसैगरी जेडियू, शिरोमणि अकाली दल र स्वतन्त्र उम्मेदवारको एक–एक सिट छ ।

जनताले सरकार बनाउन अघिल्ला निर्वाचनको तुलनामा यसपाली धेरै मत खसाले पनि कसैले पनि स्पष्ट बहुमत ल्याउन नसक्दा दिल्लीमा सरकार गठन प्रक्रिया अप्ठेरो भएको छ । सरकार बनाउन कूल सिट संख्याको आधाभन्दा बढी सिट आवश्यक पर्छ । ७० सिट रहेको विधानसभामा सरकार बनाउन त्यसको आधाभन्दा धेरै अर्थात् कम्तिमा ३६ सिट चाहिन्छ । सबैभन्दा धेरै ३१ सिट जितेको भाजपाले अरु साना दलसँग मिले पनि ३६ सिट पुग्दैन । आम आदमी पार्टी र काँग्रेस भाजपासँग मिलेर सरकार बनाउन अझैसम्म तयार देखिएका छैनन् ।

फेरि पनि चुनाव ?

दिल्ली विधानसभाको दोस्रो ठूलो दल आम आदमी पार्टीले कुनै पनि दलसँग मिलेर सरकार गठन नगर्ने स्पष्ट पारिसकेको छ । उसले विपक्षमा बस्ने बताएको छ ।

यसैगरी सबैभन्दा ठूलो दल बनेको भाजपाले पनि बहुमतको अभावमा सरकार नबनाउने बताएको छ । यसरी कसैलाई पनि बहुमत नमिलेपछि दिल्लीमा राजनीतिक संकट परेको छ ।

यस्तो अवस्थामा राजनीतिक संकट निवारणको एकमात्र अवस्था उपराज्यपाल नजीब जंगको हातमा देखिएको छ । उनले फेरि चुनावको लागि घोषणा गरिदिए राजनीतिक संकट निवारण हुने धारणा कतिपयको छ । भारतका संविधानविदहरुले पनि दोस्रोपटक चुनाव गराउनु नै राजनीतिक संकट निवारणको उपयुक्त विकल्प हुने सुझाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us