निर्देशक रेग्मीको निधनले चितवन शोकमा

काठमाण्डु टुडे २०७० मंसिर २४ गते ४:४८ मा प्रकाशित

shiva Regmiचितवन, २४ मंसिर–बरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको निधनले उनको गृह जिल्ला चितवनका कलाप्रेमीहरुमा शोक छाएको छ । भरतपुर नगरपालीका–४ बारघरे निवासी निर्देशक रेग्मीको सोमबार विहान काठमाण्डुमा निधन भएसँगै कला साहित्य र संगीतप्रेमी सबै शोकमा डुबेका छन् ।

चितवन जिल्लामा प्रसारणमा रहेका रेडियोहरुले निर्देशक रेग्मीद्वारा निर्देशित चलचित्रका गीतहरु मात्र प्रसारण गरिरहेका छन्  । उनलाई कला क्षेत्रमा अघि बढाउन उत्प्रेरित गर्ने नारायणगढको नारायणी कला मन्दिरले उनको पार्थीव शरिरलाई अपरान्ह मन्दिर परिसरमा राखेर श्रद्धान्जली अर्पण गर्ने जनाएको छ । २०४८ सालमा नारायणी कला मन्दिरबाट कला क्षेत्रमा प्रवेश गरेका रेग्मीले पहिलोपटक निर्देशन गरेको ‘स्वदेश भित्र हराएको नागरिक’ले अन्तराष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।

संगीतकार सहन प्रधानले रेग्मीको असामयीक निधनले फिल्मी क्षेत्रलाई ठूलो नोक्सान पुगेको बताए । रेग्मीको निधन पछि नारायणी कला मन्दिरका पूर्वअध्यक्ष समेत रहेका प्रधानले ओस्कार अवार्ड प्राप्त गर्ने फील्म बनाउने रेग्मीको सपना अधुरो नै रहेको धारणा राखे ।

त्यस्तै चितवनकै पुराना संगीतकार रामप्रसाद श्रेष्ठले चितवनलाई चलचित्रको  क्षेत्रमा चिनाउन सफल रेग्मीको निधन सिंगो चलचित्र क्षेत्रका लागि दुःखद भएको धारणा राखे ।
विक्रम संवत् २०२१ सालमा चितवनमा जन्मिएका निर्देशक रेग्मी नेपाली चलचित्रका ब्यबसायिक रुपमा सफल निर्देशकका रुपमा चिनिन्छन् । दुबै मिर्गौलाले काम गर्न छाडेपछि सिकिस्त भएका रेग्मीको सोमबार विहान काठमाण्डुको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us