एमाओवादी सहित १६ दलले समानुपातिक सभासदको सूची नबुझाउने

काठमाण्डु टुडे २०७० मंसिर २४ गते ३:१४ मा प्रकाशित
maoist-officeकाठमाण्डु, २४ मंसिर– एकीकृत नेकपा माओवादीसहितका १६ दलले आफ्नो पार्टीको तर्फबाट समानुपातिक सभासदहरुको नामावली निर्वाचन आयोगमा नबुझाउने निर्णय गरेको छ । मंसिर चार गते भएको दोस्रो संविधानसभा निर्वाचनमा भएको धाँधली छानविनकालागि उच्चस्तरीय आयोग गठन नभएसम्म संविधानसभा बहिस्कार गर्ने बैठकले निर्णय गरेको हो ।
बैठकपछि एकीकृत माओवादी नेता बर्षमान पुनले भने, ‘निर्वाचनमा भएका धाँधली र षड्यन्त्रको उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने भन्ने मागमा हामी सबै सहमत छौं, छानविन नभएसम्म समानुपातिक सभासदको नाम पनि पठाउँदैनौं ।’
एकीकृत माओवादी, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी पार्टी लगायत १६ दलले निर्वाचनमा संस्थागत, प्रकृयागत र नीतिगत रुपमा धाँधली भएको जिकीर गर्दै आएका छन् ।
एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार बसेको असन्तुष्ट १६ दलको बैठकमा संयुक्त मोर्चा बनाउने अवधारणा पत्रमाथि पनि छलफल भएको थियो । गठबन्धन निर्माणको अवधारणा तयार पार्न बर्षमान पुनको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । सोही कार्यदलले पेश गरेको अवधारणामा छलफल भए पनि अन्तिम टुंगो भने लागिसकेको छैन ।
बैठकपछि नेता पुनले भने, ‘गठबन्धनको निर्माणको तयारी चलिरहेको छ, त्यसको अवधारणा पत्रमाथि आज पनि छलफल भयो । दीर्घकालिनरुपले संघीयता, परिवर्तन र पहिचानका मुद्दामा सबै एक ठाउँमा रहनुपर्छ भन्ने अवधारण पत्र पेस भएको छ ।’
बुधबार दिउँसो एक बजे फेरि बस्ने बैठकले गठबन्धन गठनलाई औपचारिकता दिने बताइएको छ । यसअघि शनिबार बसेको बैठकले संघीय लोकतान्त्रिक गठबन्धन बनाउने सैद्धान्तिक सहमति गरेको थियो ।
पहिचानसहितको संघीयता, संघीयतासहितको संविधानप्रति प्रतिवद्ध दलहरुलाई गठवन्धनमा सहभागी गराउने तयारी छ । गठबन्धनले संविधानसभामा भएको भनिएको धाँधली छानविनका लागि दबाव दिने र संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतको रक्षाको लागि संविधान जारी नहुन्जेलसम्म पहल जारी राख्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us