समानुपातिक सभासद छान्न दलहरु व्यस्त

काठमाण्डु टुडे २०७० मंसिर २४ गते ३:०७ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर–निर्वाचन आयोगमा बुझाउने समानुपातिक तर्फका सभासदहरुको नामावली छनोट गर्न राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचन आयोगले मंगलबारभित्र समानुपातिक सभासदहरुको सूची बुझाउन भनेकाले दलहरु विहानैदेखि छलफलमा व्यस्त भएका हुन् । नेपाली काँग्रेस, नेकपा एमाले, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा माले लगायत दलहरु बैठकमा व्यस्त छन् ।

आयोगमा आइतबार कार्यालय समयभित्र पाँच राजनीतिक दलले मात्र समानुपातिक सभासदको सूची बुझाएका छन् । आइतबार राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाले सभासदको सूची बुझाएका हुन् भने नेपाल परिवार दल, खम्बुवान राष्ट्रिय मोर्चा र समाजवादी जनता पार्टीले त्यसअघि नै नामावली बुझाइसकेका थिए ।

राप्रपा नेपालबाट को को सिफारिसमा परे ?

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम राप्रपा नेपालले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा २४ जना सभासदको नाम सिफारिस गरेको छ । सो पार्टीका तर्फबाट विक्रमबहादुर थापा, भाष्कर भद्रा, रामकुमार सुब्बा, सुशीलकुमार श्रेष्ठ, शयन्द्र बान्तवा, कुन्तीकुमारी शाही, दीनेश श्रेष्ठ, दीलनाथ गिरी, लीलादेवी श्रेष्ठ, रेशमबहादुर लामा, गङ्गाप्रसाद यादव र कमलादेवी शर्मा सिफारिसमा परेका छन् । त्यसैगरी विराज विष्ट, बबिना मोक्तान लावती, राजेश्वरी देवी, धानो महरा, श्यामसुन्दर टिवडेवाल, सीता लुईंटेल (ज्ञवाली), श्रीकान्ती पासी, कान्ता भट्टराई, राजकुमार अग्रवाल, रामदुलारी चौधरी र भक्तबहादुर विश्वकर्मा (खपाङ्गी) रहेका छन् ।

राजमोबाट सिफारिस भएकाहरु

राष्ट्रिय जनमोर्चाले अध्यक्ष चित्रबहादुर केसीसहित तीनजनाको नाम सिफारिस गरेको छ । अध्यक्ष केसी सहित, राधा पौडेल र मीना पुन सिफारिसमा परेका हुन् । पौडेल नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहकी कान्छी श्रीमती हुन् । उनी मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाको पार्टी उपाध्यक्ष पनि हुन् । यसैगरी बागलुङ दुदिलाभाटी घर भएकी पुन पार्टी केन्द्रीय सदस्य तथा महिला संगठनकी अध्यक्ष हुन् । पौडेल पहिलोपटक सभासद बनेकी छन् भने पुन यसअघिको संविधानसभामा पनि सभासद थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us