फुजेल प्रकरणका पौडेलमाथि दुई माओवादीको दाबी

काठमाण्डु टुडे २०७० मंसिर २३ गते १३:५५ मा प्रकाशित

UCPN-Maoistचितवन, २३ मंसिर– जिप्रका चितवनले पक्राउ गरेको पौडेललाई दुवै माओवादीले आफ्नो कार्यकर्ता भएको भन्दै रिहाइको माग गरेका छन् ।

अजिव उपनामबाट चिनिने भरतपुर नगरपालिका–९ शरदपुर घर भएका पौडेल पार्टी एक हुँदा बुद्धिजीवी संगठनका जिल्ला सदस्य थिए । दुवै माओवादीले पक्राउ लगतै छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पौडेल निर्दाेष रहेको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।

एकीकृत नेकपा माओवादीले गिरफ्तारको विरोध गर्दै आज दिउँसो ३ देखि ४ बजेसम्म जिल्लाका प्रमुख ६ स्थानमा चक्काजाम गर्‍यो । त्यस्तै नेकपा–माओवादीका जिल्ला नेतृत्वले पौडेललाई अदालत लगेसँगै आज दिनभर उनको रिहाइ हुनुपर्ने भन्दै जिल्ला अदालत छाडेनन् ।

एमाओवादी जिल्ला संयोजक घनश्याम दाहालले पौडेल पार्टी फुटेपछि भएको संगठनको जिल्ला भेलाको प्रतिनिधि भएको बताए । पौडेलले गएको संविधानसभा निर्वाचनमा समेत प्रचारमा सहयोग पुर्‍याएको संयोजक दाहालले बताए ।

उता, नेकपा–माओवादीकी जिल्ला सहइन्चार्ज अम्बिका मुडवरीले पौडेल आफ्नो संगठनको सदस्य रहेको दाबी गरे । जग्गा व्यवसायी पौडेल नारायणगढमा रहेको सत्यम् जेभिर्यस नामक निजी विद्यालयका सञ्चालक एवम् प्राचार्यसमेत हुन् ।

पौडेललाई १२ दिन म्याद थप

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका परशुराम पौडेलमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आज १२ दिनको म्याद दिएको छ ।

पौडेललाई भरतपुर नगरपालिका–९ शरदपुरस्थित उनकै निवासबाट शुक्रबार राति प्रहरीले पक्राउ गरेको थियो । किटानी जाहेरी परेका पौडेल फरार रहेको भन्दै प्रहरीले यसअघि पक्राउ गर्न सकेको थिएन ।

छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा अनशनमा रहेका अधिकारीका बाबु नन्दप्रसाद र आमा गङ्गामायाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि पछिल्लो समय फरार रहेका पौडेलसहित अन्यको खोजी कार्यलाई प्रहरीले तीव्रता दिएको थियो ।

पक्राउ लगत्तै पौडेललाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको थियो । विसं २०६२ मङ्सिर २६ गते मृतक अधिकारीका दाजु नुरप्रसाद अधिकारीले ११ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए ।

झन्डै तीन महिनाअघि अधिकारीका बाबुआमा दोषीलाई कारबाही नभएको भन्दै आमरण अनशनमा बसेपछि प्रहरीले आरोपितमध्ये रामप्रसाद अधिकारीलाई पक्राउ गरी अनशन तोडाएको थियो । पच्चीस दिनसम्म हिरासतमा राखेको अधिकारीलाई प्रमाण पर्याप्त नभएको भन्दै छाडिएको थियो । प्रवेशिका परिक्षा दिएर हजुरबुबा र हजुरआमालाई भेट्न पूर्वी चितवनको जयमङ्गलामा आएका १८ वर्षीय कृष्णप्रसादको २०६१ साल जेठ २४ गते हत्या भएको थियो ।

दाजु नुरप्रसादले पौडेल र अधिकारीसँगै गोरखा फुजेल–६ का छविलाल पौडेल, मेघनाथ पौडेल, फुजेल–७ का विष्णु तिवारी, सुभद्रा अधिकारी, सीता अधिकारी, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी, रामप्रसाद अधिकारी र भीमसेन पौडेल घटनामा संलग्न रहेको भन्दै किटानी जाहेरी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us