कालीमाटी तरकारी बजारलाई सरकारी निर्देशन

काठमाण्डु टुडे २०७० मंसिर २३ गते १३:३० मा प्रकाशित

kalimati tarkari bajarकाठमाण्डु, २३ मंसिर– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले उपभोक्तालाई उचित मूल्यमा ताजा फलफूल तथा तरकारी उपलब्ध गराउन निर्देशन दिएका छन् ।

सचिव बाँस्कोटा नेतृत्वको टोलीले आइतबार कालीमाटी तथा फलफूल बजारको आकस्मिक निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले स्वस्थ तरकारी बिक्री गर्न, किसानले उचित मूल्य पाउने व्यवस्था गर्न र फोहोर व्यवस्थापन गर्न सम्बद्ध पदाधिकारीहरुलाई निर्देशन दिएका थिए ।

उनले मूल्यमा पारदर्शिता अपनाउन, आपूर्तिलाई नियमितता दिन र घातक विषादी प्रयोग नभएका हरियो तरकारी र फलफूल मात्रै बिक्री गर्ने प्रबन्ध मिलाउन आग्रह गरेका थिए । उनले ढक तराजु एवम् लिटर मापन गर्ने यन्त्र उपकरणको विश्वसनीयता कायम गर्न र यस बजारले आफ्नो सामाजिक दायित्वस्वरुप अभियानको रुपमा सफाइ गर्ने तथा प्याकेजिङ एवम् ग्रेडिङमा ध्यान दिन आग्रह गरेका थिए ।

बहुतल्ले भवन निर्माणको अवधारणा, कोड स्टोर निर्माण, फोहोरबाट प्राङ्गारिक मल कारखाना सञ्चालन वा गाईपालन जस्ता रचनात्मक काम गर्न सकिने जानकारी दिँदै उनले हरियो तरकारीको खपत वृद्धि गर्न तरकारी मेलाको आयोजना गर्न सकिने समेतमा जोड दिए ।

मुलुकभर सरकारको पहलमा २४ वटा तरकारी थोक बजार र २४५ वटा सङ्कलन केन्द्र सञ्चालित छन् । निजी क्षेत्रबाट विभिन्न स्थानमा बजार र हाट बजार सञ्चालन हुँदै आएको छ । कूल ४५ रोपनी क्षेत्रफलमा फैलिएको कालिमाटी तरकारी बजारमा औसतमा दैनिक ६४४ मेट्रिक टन तरकारी र फलफूल बिक्री हुने गरेको छ । यहाँ ३८१ थोक र ७० खुद्रा व्यापारी रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us