
काठमाण्डु, २३ मंसिर– एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई समाधान गर्न तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न माग गरेका छन् ।
उनले आयतबार प्रेस विज्ञप्तिमार्फत जनयुद्वकालीन समयमा भएका सबै घटनाको जिम्मेवारी तत्कालीन संयुक्त क्रान्तिकारी जनपरिषद्को प्रमुखको हैसियतले आफूले लिने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्नुको साटो पक्राउ गरेर मुद्दा चलाउन थाल्ने हो भने द्वन्द्वकालमा मारिएका १७ हजारभन्दा बढी परिवारले भोक हड्ताल गरे के गर्ने ?’
नेता भट्टराईले जनयुद्वकालीन मुद्दामा गोरखा फुजेलका परशुराम पौडेललाई गिरफ्तार गरिएकामा आक्रोश व्यक्त गर्दै शान्ति र मेलमिलाप विरोधी तत्वहरुको उक्साहटमा बृहत शान्ति सम्झौता विपरीत हुने यस्ता गतिविधि नगर्न आग्रह गरेका हुन् ।
चितवन प्रहरीले शनिबार गोरखाका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको भन्दै पौडेललाई गिरफ्तार गरेको थियो ।