‘नक्कलबाट समाजवादी आन्दोलन अघि बढ्दैन’

काठमाण्डु टुडे २०७० मंसिर २३ गते १२:२२ मा प्रकाशित

Pradip-Gyawaliकाठमाण्डु, २३ मंसिर– प्रमुख दलका नेताहरुले परम्परागत तवरले भन्दा नौलो र समयानुकुल परिस्थितिअनुसार मुलुकमा समाजवादी आन्दोलनलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाल भेनेजुएला ऐक्यवद्धता सञ्जालले आइतबार गरेको भेनेजुएलाका पूर्व राष्ट्रपति ह्यूगो चाभेजको श्रद्धान्जली कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले विश्वभर सफल भएको समाजवादी आन्दोलनको अन्ध नक्कलभन्दा पनि समयानुकल ढङ्गले मुलुकको मौलिकतामा अगाडि बढाए मात्र सफल हुने धारणा राखेका हुन् ।

आन्दोलन समृद्धिको पक्षमा

कार्यक्रममा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीलले समाजवादी आन्दोलन जनताको जीवनस्तर उकास्न र राष्ट्रको समृद्धिको पक्षमा हुनुपर्ने धारणा राखे ।

उनले नेपालको कम्युनिस्ट आन्दोलनको आफ्नै मोलिकता भएपनि आन्दोलनहरु केवल सरकार र सत्ता प्राप्तिका लागि मात्रै केन्द्रित भएकाले त्यसले सोचे जति सफलता प्राप्त गर्न नसकेको बताए ।

ज्ञवालीले भने, ‘ मुलुकको हितका खातिर बोल्ने राजनीतिक दलहरु पदमा रहँदा एउटा कुरा र पदबाट बाहिर नरहदा अर्को कुरा गर्ने सस्कारको अनत्य हुनु आवश्यक छ, जुन दिन यस्तो प्रणालीको अन्त्य हुन्छ त्यही दिन नेपालको विश्व रङ्गमञ्चमा शीर उच्च हुन्छ ।’

पाठ सिक्नुपर्ने

एकीकृत माओवादीका नेता खिमलाल देवकोटाले समाजवादी आन्दोलनको भविष्य उज्जवल रहेको भन्दै यस्ता आन्दोलनहरु आफ्नै मौलिकतामा अगाडि बढाउनुपर्ने बताए ।

भेनेजुएलाको समाजवादी आन्दोलनबाट नेपालले धेरै पाठ सिक्न सक्ने भन्दै उनले समाजवादी आन्दोलनलाई नेपाली माटोको सोच अनुसार नै अगाडि बढाउनुपर्नेमा जोड दिए ।

लेखक तथा विश्लेषक नरेन्द्रजङ्ग पिटरले राजनीतिक नेताहरुका नैतिकताको खडेरी परेको भन्दै नेताहरु नैतिकवान बने मात्र मुलुकको हित हुने धारणा राखे ।

उनले जनताको राजनीतिक गर्ने भन्ने नेताहरुमा नैतिक बल रह्यो भने मात्र जनताले विश्वास गर्ने बताए ।

यही बर्षदेखि हरेक डिसेम्बर ८ तारिखका दिन भेनेजुएलाका पूर्व राष्ट्रपति चाभेजकोे सम्मानमा विश्वभर श्रद्धाञ्जली सभाको आयोजना गर्ने कार्यक्रम अनुसार नेपालमा पनि सो कार्यक्रम मनाइएको सञ्जालका संयोजक मनऋषि धितालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us