
काठमाण्डु, २३ मंसिर– एनसेल कप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब समूह विजेता बन्दै शीर्ष आठमा प्रवेश गरेका छन् ।
प्रतियोगितामा आर्मी समूह ‘ए’, मच्छिन्द्र समूह ‘बी’, थ्रीस्टार समूह ‘सी’ र मनाङमस्याङ्दी समूह ‘डी’ बाट विजेता बन्दै अन्तिम शीर्ष आठमा प्रवेश गरेका हुन् ।
यसैगरी, समूह ‘ए’ बाट संकटा क्लब, समूह ‘बी’ बाट हिमालयन शेर्पा क्लब, समूह ‘सी’ बाट नेपाल प्रहरी क्लब र समूह ‘डी’ बाट व्वाइज युनियन क्लब समूह उपविजेता बन्दै प्रतियोगिताको अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।
ए डिभिजनका १२ टिमले प्रतिस्पर्धा गरेको सो प्रतियोगितालाई चार समूहमा विभाजित गरिएको थियो । जाउलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र सरस्वती युवा क्लब छनोट चरणबाट बाहिरिएका छन् ।
ए डिभिजनमा रहेका १४ क्लबमध्ये न्यूरोड टिम (एनआरटी) र रानीपोखरी कर्नर टिम (आरसिटी) ले भने प्रतियोगितामा सहभागिता जनाएका थिएनन् । आरसिटी गतवर्ष एनसेल कप फुटबल प्रतियोगिताको उपविजेता हो ।
भोलि सोमबार दिउँसो २ बजे त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्र्दैछ ।