युरोपेली देशमा हवार्ई प्रतिबन्ध हटाउन प्रयास गरिने

काठमाण्डु टुडे २०७० मंसिर २३ गते १०:४७ मा प्रकाशित

TIA planeकाठमाण्डु, २३ मंसिर– युरोपेली आर्थिक, व्यापार, वाणिज्य तथा उद्योग संघले नेपालमा दर्ता भएका हवाइजहाजलाई युरोपेली राष्ट्रमा प्रतिबन्ध लगाइएपछि आएको समस्या समाधानका लागि पहल गर्ने जनाएको छ ।

संघका अध्यक्ष विनायक शाहले सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरणसंग सहकार्य गरी नेपाललाई युरोपेली राष्ट्रको नकारात्मक सूचीबाट हटाउन हवाई सुरक्षामा भएका प्राविधिक तथा भौतिक कमीकमजोरी सच्याउने प्रतिबद्धताका साथ आग्रह गरिने बताए ।

आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले हवाइ यातायातका क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी रहेको र युरोपेली आयोगको सो निर्णयबाट पर्यटन उद्योगमा समेत नकारात्मक असर पर्ने बताए । शाहले भने, ‘छ महिनाभित्र सुरक्षाकमजोरीमा सुधारको मौका दिने सहमति भए पनि छोटो समयमै अप्रत्याशित रुपमा आएको सो निर्णयबाट निजी क्षेत्र निरास भएको छ ।’

उनले देशका विमानस्थलको भौतिक पूर्वाधार विकासमा गृहकार्य जारी रहनुपर्ने र सुधार भइरहेको छ भन्ने सन्देश दिनु आवश्यक छ भन्दै हालै नेपालमा उडान प्रारम्भ गरेको टर्की एयरलाइन्सलाई सो निर्णयबाट असर नपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us