एमालेले भन्यो, ‘संविधानसभाबाटै धाँधली छानविन समिति बनाऔं’

काठमाण्डु टुडे २०७० मंसिर २३ गते १०:२९ मा प्रकाशित

Prachanda and jhalanathकाठमाण्डु, २३ मंसिर–नेकपा एमालेले संविधानसभा निर्वाचनमा धाँधली भएको भन्ने एकीकृत माओवादीको आशंका निवारण गर्न संविधानसभाबाटै छानविन समिति गठनको प्रस्ताव गरेको छ ।

लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगी एमाले नेताहरुले आइतबार यस्तो प्रस्ताव राखेका हुन् । निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेको माओवादीले धाँधली छानविनका लागि उच्चस्तरीय स्वतन्त्र छानविन समिति गठनको माग गर्दै आएको छ ।

प्रचण्डको निजी सचिवालयका अनुसार एमाले नेताहरुले माओवादी नेतृत्वलाई संविधानसभामा आउन आग्रह गर्दै त्यसपछि सबै विषयको टुंगो संविधानसभाबाटै लगाउन सकिने बताएका थिए ।

जवाफमा माओवादीले पहिला छानविन समिति गठन भएपछि मात्र संविधानसभाको प्रक्रियामा सामेल हुने अडान दोहोर्‍याएको थियो । ‘एमालेका नेताहरुले संविधानसभाबाटै धाँधली छानविनका लागि समिति  बनाऔं भन्ने प्रस्ताव राख्नुभयो, ‘प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले काठमाण्डु टुडेसँग भने, ‘अध्यक्षले पहिला छानविन समिति गठन गरेपछि प्रक्रियामा जाने जवाफ दिनुभयो ।’

एमाले नेता वामदेव गौतमले पूर्वअडानबाट पछि हटेर संविधानसभामा आउन र संविधानसभाबाटै सबै विषयको टुंगो लगाउन आफूहरुले प्रस्ताव गरेको जानकारी दिए । ‘हामीले संविधानसभाबाटै सबै विषयको टुंगो लगाउन प्रस्ताव गर्‍यौं’, गौतमले भने, ‘संविधानसभामा जान्न भन्ने र समानुपातिकतर्फका सभासदको नाम नबुझाउने काम गर्नुभएन भन्यौ ।’

भेटमा एमालेबाट अध्यक्ष झलनथा खनाल, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्षद्वय बामदेव गौतम र विद्या भण्डारी तथा नेता केपी ओली तथा एकीकृत माओवादीबाट अध्यक्ष प्रचण्ड, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी थिए ।

त्यसअघि काँग्रेस शीर्ष नेताहरु पनि लाजिम्पाट पुगेर अडान छाडी संविधानसभामा आउन एकीकृत माओवादीलाई आग्रह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us