तीन पत्नीका नजरमा नेल्सन मन्डेला

काठमाण्डु टुडे २०७० मंसिर २३ गते ८:२० मा प्रकाशित

Nelsan mandelaदक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति तथा रंगभेदविरुद्धको आन्दोलनका अभियन्ता नेल्सन मन्डेला राजनीतिक रूपमा सफल व्यक्तित्व मानिए पनि पारिवारिक रूपमा उनलाई असफल मानिन्छ । मन्डेलाले जीवनमा तीनवटा बिहे गरे । मन्डेलाको आकर्षक व्यक्तित्व तथा पहिरनका कारण उनका धेरै महिला प्रशंसक थिए । उनको जीवनी लेखेका एन्थोनी साम्पसन्सले एकपटक भनेका थिए, ‘मन्डेला महिलाको नजरमा पर्ने पुरुष हुन् र उनलाई यस विषयमा गर्व छ ।९५ वर्षको उमेरमा निधन भएका मन्डेलालाई ६ दशक कुनै न कुनै महिलाले साथ दिएका थिए । जीवनसाथीका रूपमा उनीहरूको सहयोगले मन्डेलालाई सफल बनायो । तीन पत्नीले मण्डेलालाई कस्तो सहयोग गरे, अनि उनीहरू मन्डेलालाई कसरी हेर्छन् त ? एजेन्सीको सहयोगमा तयार पारिएको आलेख :

पहिलो नजरमा नै माया बस्यो
एवलिन मेस (पहिली पत्नी)
नेल्सन मन्डेलाको पहिलो विवाह उनका राजनीतिक संरक्षक वाल्टर सिसुलुकी भतिजीसँग भएको थियो । मन्डेलाको यो पहिलो विवाह हुनुभन्दा तीन वर्षपहिले नै उनी जोहानेसबर्ग आएका थिए । यो विवाह मन्डेलाले परिवारले खोजेकी एक युवतीसँग विवाह गर्न इन्कार गरेकाले रचिएको थियो । परिवारले खोजेकी गाउँले युवतीलाई विवाह गर्न इन्कार गरेका मन्डेलाले एवलिनसँग विवाह गर्ने निर्णय लिए ।

विवाहको समयमा मन्डेलाको उमेर २६ वर्षको थियो भने एवलिन २२ वर्षकी थिइन् । मन्डेलाको जीवनी ‘हाइयर देन होप’मा एवलिनले भनेकी छिन्, ‘मलाई लाग्थ्यो, पहिलो नजरमा नै मैले उनलाई माया गर्न थालिसकेकी थिएँ ।’ यो जीवनी मन्डेला जेलबाट रिहा भएपछि सन् १९९० मा छापिएको थियो ।

उनले सो पुस्तकमा भनेकी छिन्, ‘पहिलो भेटघाटमा नै हामी एक–अर्कालाई विश्वास गर्न थाल्यौँ, माया पलायो र त्यसको एक महिनापछि उनी विवाहको प्रस्ताव लिएर आए ।’

विवाह भएपछि मन्डेलाले आफ्नो पढाइ जारी राखे । एलविन नर्स थिइन् । उनको आम्दानीले नै मन्डेला परिवारको खर्च चल्न थाल्यो । एलविन र मन्डेलाका चार बच्चा भए । दोस्रो बच्चाको नौ महिनामा भएको निधनलाई उनीहरूले जीवनको सबैभन्दा दुखद क्षण भनेका छन् । बच्चाको निधनका कारण एलविन धर्ममा झुकाव राख्न थालिन् । उता, मन्डेला धेरै समय राजनीतिमा दिन थाले । एलविनलाई भने राजनीतिबारे कुनै चासो थिएन ।

दु:खद अन्त्य

तर, मन्डेला र एलविनको वैवाहिक जीवन लामो समय चलेन । १३ वर्षपछि उनीहरू छुट्टिए । मन्डेलाको आत्मकथा ‘लङ वाक टु फ्रिडम’मा मन्डेलाले लेखेका छन्, ‘म आफ्नो जीवनमा संघर्ष छोड्न सक्दिनथेँ, मलाई स्वतन्त्र दक्षिण अफ्रिका हेर्नु थियो । तर, उनी मेरो पूरै समर्पण परिवारमा नभएसम्म मसँग बसिरहन सक्ने स्थितिमा थिइनन् ।’

पहिलो विवाहको दुखद अन्त्य भयो । देशद्रोहको अभियोगमा मन्डेलालाई गिरफ्तार गरियो । केही समयपछि उनी जमानतमा रिहा भएर आउँदा घरमा एलविन थिइनन् ।  मन्डेलालाई सन् १९६४ मा आजीवन कारावासको सजाय सुनाइयो । त्यसको पाँच वर्षपछि उनका जेठा छोराको एक कार दुर्घटनामा मृत्यु भयो । सन् १९९० मा रिहा भएपछि मन्डेलालाई पत्रकारले दोस्रो क्राइस्टको संज्ञा दिए । एवलिनलाई उनीहरूले सोधे, ‘दोस्रो जिससको जन्म भएको छ, तपाईंलाई के लाग्छ ?’

जवाफमा उनले भनिन्, ‘मन्डेला एक मानिसमात्र हुन्, किन उनलाई मानिसहरू धेरै उपमा दिइरहेका छन् ? आफ्नी पत्नी तथा बालबालिका छाडेर हिँड्ने मानिस कसरी भगवान् हुन सक्छ ? उनले कैयौँ व्यभिचार गरेका छन्, त्यस्तो मानिसलाई किन भगवान्सँग तुलना गरिएको छ ?’

तर, केही समयपछि उनी मन्डेलाको धेरै तारिफ गर्न थालिन् । पहिलो आमनिर्वाचनबाट पहिलो काला राष्ट्रपति निर्वाचित भएपछि एवलिनले मन्डेलालाई मानिसले धेरै माया गर्ने बताइन् । तर, मन्डेला रिहा भएपछि उनले एकपटक पनि मन्डेलालाई भेट्न चाहिनन् ।

उनले भनेकी थिइन्, ‘जब म मानिसहरूको घरमा धार्मिक विषयमा कुरा गर्न जान्छु, तब मन्डेलाको फोटो उनीहरूको मूल ढोकामा राखेको पाउँछु । यस्तो शक्ति भगवान्बाट मात्रै मिल्छ । भगवान्ले पनि यस्ता मानिसलाई चुन्छन् ।’

मन्डेलासँग छुट्टिएको ४० वर्षपछि एवलिनले सन् १९९८ मा साइमन राकिपिले नामक एक धार्मिक व्यक्तिसँग दोस्रो विवाह गरिन् । उनको निधन सन् २००४ मा भएको थियो ।

विवाहको प्रस्ताव सहजै स्विकारेँ
विनी माडिकिजेला मन्डेला (दोस्री पत्नी)

विनी र नेल्सनको भेट त्यतिवेला भयो जब नेल्सनलाई देशद्रोहको अभियोग लागेको थियो भने विनी सामाजिक कार्यकर्ताका रूपमा कार्यरत थिइन् । त्यतिवेला विनीको उमेर २२ लागेको थियो । मन्डेला ४४ वर्षका थिए । मन्डेलाले आफ्नो आत्मकथामा लेखेका छन्, ‘म उसको प्रेममा पनि परिरहेको छु र उसलाई राजनीतिमा पनि तानिरहेको छु ।’ विनीले उनको र नेल्सनको सम्बन्धबारे भनेकी छिन्, ‘मन्डेलाले कहिल्यै पनि औपचारिक रूपमा प्रेम प्रस्ताव गरेनन् ।’

विनीले भनेकी छिन्, ‘एक दिन नेल्सनसँग बाटोमा हिँडिरहेकी थिएँ । उनले अचानक प्रस्ताव गरे– तिमी एक ड्रेस डिजाइनरकहाँ जाऊँ । उनी तिमीलाई विवाहका लागि सुहाउने पहिरन बनाउँदै छिन् । तिमी आफ्नातर्फबाट कति मानिसलाई हाम्रो विवाहमा आमन्त्रित गर्न चाहन्छौँ ?’

विनीलाई भने अचानक आएको विवाहको प्रस्तावले अचम्म बनायो । तर, उनले विवाहको विरोध गर्न सकिनन् । उनले भनेकी छिन्, ‘मैले कहिले भनेर मात्र सोधेँ ।’

सन् १९८३ मा फिल्म निर्माता केभिन हैरिसले विनीसँगको एक साक्षात्कारमा विनीले आफू कैदीसँग विवाह गर्न गएकोबारे बताएको भनेका छन् । उनले त्यतिवेला मन्डेलाबारे भनेकी थिइनन् । उनले मन्डेलालाई प्रतिबन्ध लगाएकाले नै सरकारसँग विवाहको अनुमति लिनुपर्ने भयो । उनलाई सरकारले चार दिनको समय दियो र ट्रान्सकेईमा गएर विवाह गर्न भन्यो । मन्डेला र विनीको विवाह भयो । उनीहरूका दुई छोरी भए । तर, उनीहरूले लामो समय साथ–साथ बिताउन पाएनन् ।

विनीले आफ्नो संस्मरणमा लेखेकी छिन्, ‘मलाई उनीसँग बिताएका सम्झनैपर्ने र सम्झनामा आउने कुनै पनि पारिवारिक क्षण छैनन् । एक युवतीका लागि आफ्नो लोग्नेको समय नपाउनु कति कष्टप्रद हुन्छ भन्ने मैले बुझेकी छु । उनका लागि भने संघर्ष नै जीवन थियो र देश नै पहिलो रोजाइ थियो ।’

संघर्षकी साथी

विनीसँगको विवाहको तीन वर्षपछि मन्डेला भूमिगत भए । उनलाई केही समयमा नै प्रहरीले पक्रियो र सन् १९६२ मा पाँच वर्षका लागि जेल पठायो । त्यही वेला मन्डेलाविरुद्ध देशद्रोहको अभियोग लाग्यो र उनलाई आजीवन कारावासको समय सुनाइयो ।

तर, विनीले मन्डेलाको कदमलाई समर्थन गरिन् । आन्दोलनलाई अगाडि बढाइन् । उनलाई पनि सरकारले प्रतिबन्ध लगायो, कारावासको सजाय सुनायो, र निर्वासनमा समेत पठायो । सन् १९९१ मा विनीलाई एक विद्यालयका छात्रको हत्याको अभियोग लगाइयो । सो आरोपबारे बहसमा मन्डेलाले सधैँ उनलाई सहयोग गरिरहे ।

सन् २०१० मा गार्जियन पत्रिकालाई दिएको एक अन्तर्वार्तामा विनीले भनेकी छिन्, ‘उनी पनि एक मानिस हुन् । उनलाई पनि कहिलेकाहीँ डर लागेको होला । रिहा भएर आएपछि उनले समाजमा धेरै दिनुपर्नेछ भन्ने सोचेका थिए होलान् । त्यसैले मसँग छुट्टिने निर्णय गरे ।’

खासमा विनीलाई लागेको आरोपबारे अदालतले फैसला सुनाइसकेपछि मन्डेलाले उनीसँग छुट्टिने योजना बनाइसकेका थिए । मन्डेला राष्ट्रपति हुनुपहिले नै यी दुई छुट्टिए ।

धेरैपछि मन्डेलाले भने, ‘विनी कहिल्यै पनि मेरो ओच्छ्यानमा म जागै हुँदा आइनन् ।’ तर, पनि विनीले सधैँ मन्डेलाको प्रशंसा गर्दै आएकी छिन् ।

आकर्षक रूपमा बूढो भएको देख्न पाएँ
ग्रासा मासेल : तेस्री पत्नी

राष्ट्रपति कार्यकालको अन्त्यमा मन्डेलाले ग्रासा मासेलसँग विवाह गरे ।

मासेल मोजाम्बिकका पूर्वराष्ट्रपति समोरा मासेलकी विधवा थिइन् । सन् १९८६ मा एक विमान दुर्घटनामा समोराको निधन भएको थियो । मन्डेलाका जीवनीकार एन्थोली साम्पसनले लेखेका छन्, ‘विवाहको दुई वर्षपहिले नै मासेलले अब मन्डेलासँग आफ्नो जीवन बित्ने भएकाले अत्यन्तै खुसी लागेको बताएकी थिइन् ।’

उनले भनेकी थिइन्, ‘मन्डेला मलाई बहुत माया गर्छन्, तर सार्वजनिक रूपमा त्यो कुरालाई बढो सम्हालेर राखेका छन् ।’ उनले भनेकी थिइन्, ‘मन्डेलाले मानिसहरूलाई आफू दु:खी भएको महसुस गर्न कहिल्यै दिएनन् । उनी सबैलाई आफू खुसी भएको देखाउन चाहन्थे । उनी अत्यन्तै साधरण मानिस हुन्, जमिनसँग जोडिएका ।’

ग्रासा मन्डेलाभन्दा २७ वर्षले कान्छी थिइन् । उनले मोजाम्बिकका मानिसले मन्डेलालाई गर्ने सद्भावका कारण आफूले उनीसँग विवाह गरेको बताएकी छिन् ।

तर, विवाहको सुरुका केही दिन ग्रासालाई अत्यन्तै निरस लागे । कारण थियो– मन्डेलाको दैनिकी । मन्डेला बिहान निश्चित समयमा उठ्थे, राति निश्चित समयमा सुत्न जान्थे । मन्डेलाले आफ्नो ८०औँ जन्मदिनको अवसरमा सन् १९९८ मा ग्रासासँग विवाह गरेका थिए ।

मन्डेलाका पहिले नै ६ सौतेनी र २ आफ्नै बच्चा थिए । तर, उनीहरूले मिलिजुली दुवै परिवार चलाएका थिए ।ग्रासाले सन् २०१० मा बिबिसीसँगको अन्तर्वार्तामा भनेकी थिइन्, ‘मैले मन्डेलालाई आकर्षक रूपमा बूढो भएको देख्न पाएँ ।’

शिखर घिमिरे/नयाँ पत्रिका

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us