मण्डेलाको शोकमा आजदेखि तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइदै,परराष्ट्रमन्त्री दक्षिण अफ्रिका जाँदै

काठमाण्डु टुडे २०७० मंसिर २२ गते १५:४७ मा प्रकाशित

काठमाण्डु,मंसिर दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति  नेल्सन मण्डेलाको निधनप्रति दुख व्यक्त गर्दै नेपाल सरकारले तीन दिन सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने र कुनै पनि सरकारी औपचारिक समारोह नगर्ने निर्णय गरेको छ । सरकारले आइतवारदेखि मंगलबारसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । Nelsan mandela
मन्त्रिपरिषदको शनिवार साँझ बालुवाटारमा बसेको बैठकले परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको नेतृत्वमा एक प्रतिनिधि मण्डल जोहानेसवर्ग पठाउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिए । शोकसभा जोहानेसवर्गमा मंगलवार हुँदैछ ।
सरकारले स्वतन्त्रता, समानता तथा लोकन्त्रका अथक योद्धा, शान्ति, न्याय र साहसका प्रतिक मण्डेलाको निधनमा शोक व्यक्त गर्दै स्वर्गीय मण्डेलाको दिवङ्गत आत्माको चीर शान्तिको कामना गरेको छ ।

मण्डेलको अन्त्येष्टिका लागि दशदिने कार्यक्रम सार्वजनिक
रङ्गभेद विरोधी आन्दोलनका एक प्रमुख अग्रणी दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको अन्त्येष्टिका लागि दश दिनको कार्यक्रम सार्वजनिक गरिएको समाचार छ ।
दक्षिण अफ्रिकाको सरकारले उनको अन्त्येष्टिका लागि शुक्रबारदेखि दश दिनसम्म श्रद्धाञ्जलीका लागि राख्ने निर्णय गरेको हो । उक्त समयसम्मका लागि त्यहाँ शोकको घोषणा गरिएको छ ।
सो कार्यक्रम सरकारले शनिबार मात्र तय गरेको हो । यस कार्यक्रमपछि विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुका साथै नेताहरुको ध्यानाकर्षण हुने भएको छ ।
सो समारोहमा विश्वका कयौँ नेताको सहभागिता हुने अपेक्षा गरिएको छ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिसमेत रहनु भएका नेता मण्डेलको ९५ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।
आजसम्म विश्वका नेताहरुले आ आफ्नै देशबाट शोक वक्तव्य प्रकाशन गरी उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उनीहरुले मण्डेलालाई विश्वकै एक प्रेरणादायी नेताका रुपमा प्रसंसा गरिरहेका छन् ।
उनको अन्त्येष्टि आगामी डिसेम्बर १५ मा गरिने भएको छ । त्यसअघि सम्म उनको  पार्थिव शरीरलाई हालको उनको निवासमा राखिने छ ।
त्यस्तै उनको अन्त्येष्टि गर्नुभन्दा तीन दिनअघिदेखि शवलाई उनको बाल्यकालको घर क्युनुमा राखिने पनि बताइएको छ ।
उक्त क्युनु सहरका नागरिकले उनीप्रति आफ्नै निवासमा श्रद्धाञ्जली दिन पाउनुपर्ने माग गरेपछि सरकारले उक्त सहरमा तीन दिनसम्म शव राख्ने जनाएको हो ।
उनलाई दक्षिण अफ्रिकी नागरिकले मादिबा नामले सम्बोधन गर्छन । उक्त शब्दको अर्थ हजुरबुबा वा मान्यजन भन्ने हो । मादिका नाममा शुक्रबारदेखि नै देशभरी उनीप्रति भव्य रुपमा श्रद्धाञ्जली अर्पण गरिएका छन् ।
दक्षिण अफ्रिकी सहर केप टाउनमा उनी प्रति लाखौँ लाख नागरिकले भजन गाएर उनको चिर शान्तिको कामना गरिरहेका छन् ।
उनले करिब तीन दशकको जेलजीवनबाट मुक्त भएपछिको पहिलो सम्बोधन सोही सहरमा गरेका थिए ।
उनी विश्वमा रहेका अस्वेत जातिका नागरिकका लागि मात्र नभई प्रजातान्त्रिक आन्दोलनकै अग्रणी थिए । उनले दक्षिण अफ्रिकामा प्रजातन्त्र र अस्वेत नागरिकको अधिकार स्थापना गर्न कम्तीमा पनि २७ वर्षसम्म जेल बसेका थिए ।
शान्तिका लागि नोवेल पुरस्कार समेत प्राप्त गरेका मण्डेला दक्षिण अफ्रिकाका पहिलो काला जातिका राष्ट्रपति बने । तर सत्तामा पुगेपछि उनले काला र गोरा जातीलाई बराबर सम्मान र माया गरे ।
उनको अन्त्येष्टिका लागि को को नेताहरु उपस्थित हुनेछन् भन्ने बारेमा अझै केही स्पष्ट भएको छैन । तर दक्षिण अफ्रिकी सरकारले भने ठूलो सङ्ख्याका नेताहरुको सहभागिताको अनुमानमा उनीहरुको स्वागत र विदाईको तयारी गरिरहेको जनाएको छ ।
अहिले भने उनीप्रति देश भित्र र बाहिर विश्वभरि नै दशौँ लाख नागरिकले स्वतस्फुर्त रुपमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us