संविधानसभा अदालतमा पाँच उजुरी,प्रचण्डलाई १० दिनभित्र उपस्थित हुन आदेश

काठमाण्डु टुडे २०७० मंसिर २१ गते १२:३८ मा प्रकाशित

काठमाण्डु,२१ मङ्सिर–निर्वाचनमा पराजित विभिन्न निर्वाचन क्षेत्रका पाँच निकटतम प्रतिद्वन्द्वीले शुक्रवार संविधानसभा अदालतमा छुट्टाछुट्टै उजुरी दर्ता गराएका छन् ।
मतदान केन्द्र कब्जामा लिएर निर्वाचनमा धाँधली गरेको आरोपसहित पुनः मतदान गराउन र मतगणना दोहो¥याउनुपर्ने माग गर्दै उनीहरूले सो उजुरी गरेका हुन् । prachanda 2
यसरी उजुरी गर्नेहरूमा सप्तरी निर्वाचन क्षेत्र नं २ का सद्भावना पार्टीका नवलकिशोर साह, महोत्तरी निर्वाचन क्षेत्र नं ४ का सोही दलका सुरिताकुमारी साह, सद्भावना पार्टीकै महोत्तरी क्षेत्र नं २ का जानकीशरण साह, सिराहा–३ का एकीकृत नेकपा (माओवादी)का रामरिजन यादव र गोरखा निर्वाचन क्षेत्र नं २ का रविकला शर्मा न्यौपाने छन ।
उनीहरुले ती क्षेत्रबाट विजयी क्रमशः एमाओवादीका अशोककुमार मण्डल, स्वतन्त्र उम्मेदवार चन्देश्वर झा, नेपाली काँग्रेसका किरण यादव, नेपाली काँग्रेसकै सीतादेवी यादव र एमाओवादीका हितराज पाण्डेबिरुद्ध सो उजुरी दिएका हुन ।
ती उजुरीमा निर्वाचन आयोग, सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाइएको छ ।
सिराहा जिल्ला क्षेत्र नं ५ बाट विजयी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतबिरुद्ध १० दिनभित्र संविधान संविधानसभा अदालतमा उपस्थित हुन शुक्रवार आदेश जारी भएको छ ।
उक्त अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले अध्यक्ष दाहाल, निर्वाचन आयोग, सिरहा क्षेत्र नं ५ का निर्वाचन अधिकृत उद्धब भट्टराईलगायतलाई आवश्यक कागजातसहित १० दिनभित्र उपस्थित हुन भनेको हो ।
निर्वाचनमा सो क्षेत्रमा प्रतिस्पर्धी रहेका नेकपा (एमाले)का उम्मेदवार लीलानाथ श्रेष्ठले अध्यक्ष प्रचण्डका कार्यकर्ताबाट विभिन्न मतदान केन्द्र कब्जा गरी आफूखुसी मत खसालेकाले मतदानको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको आरोप लगाउँदै पुनः मतदान गर्न माग गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us