छाला उद्योग बगाएपछि युवा विदेश पलायन

काठमाण्डु टुडे २०७० मंसिर २१ गते ११:५८ मा प्रकाशित

बेलौरी (कञ्चनपुर), २१ मङ्सिर–आर्थिक जीवन परिवर्तनका लागि स्थापना भएको छाला उद्योग बाढीले बगाएपछि त्यहाँ कार्यरत युवा विदेश पलायन भएका छन् ।
कञ्चनपुरको दैजी–४ बैतडामा स्थापना गरिएको सुदूरपश्चिम छाला प्रशोधन उद्योग बाढीले बगाएपछि यहाँका युवा रोजगारीका लागि विदेश पलायन भएका हुन् ।
गाउँ“मै उद्योग स्थापनाले घरमै रोजगारी पाउने आशमा बसेका युवा बाढीले उद्योग बगाएपछि, दैनिक जीवनयापनका लागि विदेशिन बाध्य भएका छन् ।
पाँच वर्ष एक गैरसरकारी सामुदायिक संस्थाको पहलमा झन्डै रु आठ लाख बराबरको लागतमा निर्माण भएको उक्त छाला प्रशोधान उद्योग २०६७ साल साउनमा बाढीले बगाएको थियो ।
“रोजगारका लागि स्थापना भएको सो उद्योग बाढीले बगाउँदा त्यहाँका रोजगारीमा रहेका युवासमेत पलायन भएका छन् ।” एक जना अगुवा राजुराम सार्कीले भने “पूरै गाउँका युवा विदेश रोजगारीमा छन्, यहाँ बालबालिका, महिला र वृद्धवुद्धामात्रै छन् ।”
मरेका चौपायाको छाला सङ्कलन छाला प्रशोधन गरी अन्यत्र निर्यात गर्ने उद्योगको उद्देश्य सो उद्योग स्थापना भएको सार्कीले बताए ।
सो छाला उद्योग नहुँदा हाल छाला तथा छालाजन्य पदार्थका वस्तुहरू बाहिरबाट आयात गरिन्छ । बगेको उद्योग पुनःस्थापनाका लागि सार्की समुदायले सरकारसँग माग गरेका छन् । धेरैजसो उद्योग नेपालमा १० वर्षे द्वन्द्वका बेला विस्थापित भएका थिए, तर केही उद्योगहरू दैवी प्रकोपका कारण विस्थापित भएका छन् ।
विस्थापित उद्योगको पुनःस्थापनाका लागि पटकपटक सरकारसँग माग राख्दा पनि आफूहरूको मागप्रति सरकारले चासो नदेखाएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेशदत्त जोशीले द्वन्द्वका बेला प्राकृतिक कारणबाट विस्थापित भएका उद्योग स्थापनाका लागि वाणिज्य सङ्घले विभिन्न निकायसँग माग राख्दासमेत वाणिज्य सङ्घको मागबारे कुनै सुनुवाइ नगरेको बताए । द्वन्द्वका बेला कञ्चनपुरमा झन्डै १५० साना ठूला उद्योगहरू विस्थापित भएका छन् । वनवासा पुलका कारण यस क्षेत्रमा नयाँ उद्योग खुल्न नसकेको उनको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us