
काठमाण्डु, २१ मंसिर– समानुपातिक सभासद चयनमा विवाद भएपछि एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
स्थायी कमिटी बैठकमा नामावली चयनमा सहमति नभएपछि आउँदो मंसिर २४ गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सभासद छनोटको मापदण्ड तयार गरेको छ ।
सोही मापदण्डका आधारमा सभासदको अन्तिम टुंगो लगाउन केन्द्रीय समितिमा पेश गर्ने निर्णय भएको सचिव विष्णु पौडेलले जानकारी दिए ।
। अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीले आफू पक्षधर नेताहरुलाई सभासद बनाउन नामावली प्रस्ताव गरेका छन् । संविधानसभा निर्वाचनमा पाएको मतका आधारमा एमालेले ८४ जना समानुपातिक सभासद छान्नुपर्ने छ ।
समानुपातिक उम्मेदवारलाई घर फर्कन निर्देशन
यसैबीच एमालेले समानुपातिकतर्फका उम्मेदवारलाई राजधानी छाड्न निर्देशन दिएको छ ।
सचिव विष्णु पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी सभासद बन्न लविङका लागि राजधानी आएका उम्मेदवारलाई पार्टीले खटाएको कार्यक्षेत्र फर्कन निर्देशन दिएका हुन् । ‘समानुपातिकतर्फको उम्मेदवार बन्नुभएका कमरेडहरु र उहाँहरुका समर्थकको ठूलो पंक्ति राजधानीमा केन्द्रित भएर पार्टीका नेताहरुसमक्ष डेलिगेशन जाने, आग्रह र अनुरोध गर्ने तथा दबाब दिनेजस्ता प्रवृतिहरु देखापरेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले निश्चित मापदण्डका आधारमा विवेकपूर्ण एवं औचित्यपूर्ण ढंगले सभासदहरुको नामावली चयन गर्ने र निर्वाचन आयोग समक्ष सिफारिस गर्नेछ ।’