हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्रमा सम्झौता हुनसक्छ: थापा

काठमाण्डु टुडे २०७० मंसिर २१ गते ८:५५ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर–राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले उठाउँदै आएको हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्रको मागमा सम्झौता हुन Kamal-Thapa-Raprapa-Nepalसक्ने बताएका छन् ।
रिपोर्टर्स क्लवले राष्ट्रिय सहमतिको वातावरण बनाउन सुरु गरेको दबाब अभियानअन्तर्गत शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा थापाले सहमति र सम्झौताबाट अघि बढ्न तयार रहेको बताएका हुन् । ‘सहमति र सम्झौताको बाटोमा जाँदा हाम्रो एजेण्डा सत प्रतिसत लागु हुन सक्दैन’, थापाले भने, ‘त्यसैले एजेण्डामा हामी सम्झौता गर्दै अघि बढछौँ ।’

निर्वाचनबाट आफ्नो पार्टी चौथो शक्तिमा स्थापित हुनुलाई उनले जनताले आफ्ना एजेण्डालाई अनुमोदन गरेको अर्थमा व्याख्या गरे । उनले लोकतान्त्रिक संविधान निर्माणका लागि सहमति र सम्झौताको बाटो हिंड्न पार्टी तयार रहेको उल्लेख गरे ।

थापाले राष्ट्रिय सहमति निर्माणको जिम्मेवारी काँग्रेस र एमालेको काँधमा आएकाले सोहीअनुसार अघि बढ्न ती दलका शीर्ष नेतृत्वलाई सुझाव दिए ।

अर्को एक फरक प्रसंगमा थापाले ताजा जनादेशअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको समेत निर्वाचन हुनुपर्ने उल्लेख गरे । निर्वाचनबाट कायम भएको नयाँ शक्ति सन्तुलनका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नभए जनादेशको अपमान हुने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us