बससँग ठोक्किएर भ्यान चालकको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर २१ गते ४:१७ मा प्रकाशित

राजविराज, २१ मंसिर–पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको मोहनपुरमा शुक्रबार बिहान यात्रुवाहक बस र म्याजिक भ्यान एकआपसमा ठोक्किँदा म्याजिक भ्यान चालकको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ८१४६ नम्बरको शिवपार्वती ट्राभल्सको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ३३०७ नम्बरको म्याजिक भ्यान बिहान ७ बजेतिर एकआपसमा जुद्धा म्याजिक भ्यानका चालक सप्तरीको शम्भुनाथ गाविस–१ निवासी ३५ वर्षीय राजदेव पालको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक पालको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सप्तरीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए ।

सोही दुर्घटनामा घाइते भएका बसमा सवार राजविराज नगरपालिका–४ निवासी ५४ वर्षीय प्रदीप सतारको सप्तरीको नकटीरायपुरस्थित युनिक अस्पतालमा र धादिङ बैरेनी गाविस–२ निवासी लक्ष्मी खतिवडाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी पूर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको बुटवल नगरपालिका १४ तामनगरमा लु १ ज १७१२ नम्बरको जिपले लु १३ प ३०९६ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार स्थानीय २६ बर्षीय गणेश थापाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us