नेपाल जेसिजको ४० औं महाधिवेशन बागलुङमा

काठमाण्डु टुडे २०७० मंसिर २१ गते ४:०८ मा प्रकाशित

बागलुुङ, २१ मंसिर–नेपाल जेसिजको चालिसौं राष्ट्रिय महाधिवेसन आगामी पुस १२ देखि १४ गतेसम्म बागलुङमा हुने भएको छ । नेपाल जेसिजले बागलुङ जेसिजको आतिथ्यतामा सम्मेलन गर्न लागेको हो ।

महाधिवेशनमा भाग लिन नेपालभरका तीन हजारभन्दा बढी जेसी युवा बागलुङमा भेला हुने आयोजक समितिका सहनिर्देशक सुदीप राजभण्डारीले बताए । अधिवेशनका लागि जेसिजले स्थान छनोट गरी मञ्च निर्माण र होटल बुकिङको कामसमेत थालिसकेको छ । जिल्लाभित्र नपुग भएपछि छिमेकी पर्वत र म्याग्दी सदरमुकामका होटलमा समेत पाहुना बस्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

अधिवेशनका क्रममा एकैपटक तीन हजार युवालाई जिल्लामा भित्र्याएर पर्यटन प्रवद्र्धनमा पनि सहयोग गर्ने योजना बनाइएको जिल्ला अध्यक्ष दिवाकर शाक्यले बताए ।

महाधिवेशनका लागि सातजनाले उम्मेदवारी दर्ता गराएका छन् । काठमाण्डु जेसिजका सुशीलबाबु श्रेष्ठ, तरहरा जेसिजका रामकुमार गिरी, म्याग्दी जेसिजका धनञ्जय श्रेष्ठ, टङ्कीसिनवारी जेसिजका सुबोध कोइराला, विराट जेसिजका सन्देशदास श्रेष्ठ, बिर्तामोड जेसिजका विनोद बस्नेत र इनरुवा जेसिजका वीरेन्द्रकुमार शाहले उम्मेदवारी दर्ता गराएका हुन् । एक अध्यक्षका लागि सात र चारजना कार्यकारिणीका लागि २२ जनाको उम्मेदवारी परेको हो ।

उम्मेदवारका लागि पुस ९ देखि ११ गतेसम्म पर्वत सदरमुकाम कुस्मामा प्रशिक्षणको व्यवस्थासमेत गरिएको छ । महाधिवेशनका लागि डेढ करोड खर्च हुने अनुमान गरिएकामा सदस्यता शुल्कले ५० लाख र नपुग खर्चका लागि सहयोग अभियान सञ्चालन गरिएको शाक्यले बताए ।

अधिवेशनमा बागलुङमा मात्र तीन करोडभन्दा बढीको व्यापार हुने विश्वास लिइएको छ । उक्त अवसरमा धौलागिरिका तीन जिल्लाका पर्यटकीय क्षेत्रमा युवाहरुलाई भ्रमण गराइने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us