सिसिटिभीमा बारुलाको गोलो

काठमाण्डु टुडे २०७० मंसिर २१ गते ३:३४ मा प्रकाशित

कावासोती, २१ मंसिर–नवलपरासी सदरमुकाम परासीका विभिन्न स्थानमा जडान गरिएका सिसिटिभी क्यामरा बिग्रिएको डेढ वर्ष बितिसक्दा पनि मर्मततर्फ कसैले चासो देखाएका छैनन् । जिल्ला प्रहरी कार्यालय र उद्योग वाणिज्य सङ्घको समन्वयमा जडान गरिएका सबै क्यामरा काम नगर्ने भए पनि मर्मततर्फ दुवै पक्षले चासो नदेखाउँदा अहिले बारुला र चराको बासस्थान बनेको छ ।

सवारी दुर्घटना र सदरमुकाम परासीमा चोरी–डकैतीका घटना बढ्दै गएपछि बजारका व्यवसायीहरुसँग रकम संकलन गरी उद्योग वाणिज्य सङ्घले दुई वर्षअघि सिसिटिभी जडान गरेको थियो ।

लामो समयसम्म मर्मतमा चासो नदेखाउँदा पोलमा जडान गरिएका केही सिसिटिभीका क्यामरा बारुलाका पोकोले ढाकिएका छन् भने केही क्यामरा फुट्न थालेका छन् । व्यवसायीहरुसँग रकम उठाएर सिसिटिभी जडान गरेको संघले रकमसमेत हिनामिना गरेको केही व्यवसायीको आरोप रहेको छ ।

जडान गरेको ६ महिना नपुग्दै सिसिटीभिहरु क्रमशः विग्रदै जान थालका थिए । बजारका सिसिटीभिका क्यामराहरु विग्रिएपछि प्रहरी कन्ट्रोल कक्षमा राखिएको क्यामराको कम्प्युटर मनिटर पनि थन्काएर राखिएको प्रहरी नायब उपरीक्षक सञ्जीव शर्माले बताए । व्यवसायीहरुसँग रकम संकलन गरेर जडान गरिएको सिसिटिभीको हिसाव कितावसमेत पारदर्शी नगरेको कारणले जडान गर्ने कम्पनीलाई रकम नदिइँदा मर्मत हुन नसेको व्यवसायीहरुले बताएका छन् ।

करिब १२ लाख रुपैयाँको लागतमा काठमाडौंस्थित डच ट्रेडिङ्ग प्राइभेट लि. नक्साललाई संघले सिसिटिभि जडान गर्न जिम्मेवारी दिएको र त्यस बखतको बक्यौता रकम दिन नसक्दा मर्मत हुन नसकेको संघका महासचिव केशव भण्डारीले बताए । उनका अनुसार कम्पनीलाई पाँच लाख रुपैयाँ दिन बाँकी छ ।

सिसिटिभी जडानपछि सदरमुकाम परासीमा चोरी–डकैतीका घटना बन्द जस्तै भएको थियो तर विगत केही महिनादेखि बजार क्षेत्रमा पुनः चोरीका घटना बढ्दै जान थालेका छन् । सिसिटिभी बिग्रँदा प्रहरी जनशक्ति पनि बढी लागेकाले तत्काल मर्मत गर्न जिल्ला प्रहरी कार्यालयले उद्योग वाणिज्य संघसँग आग्रह गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us