आयोजना निर्माणपछि खानेपानीको सुविधा

काठमाण्डु टुडे २०७० मंसिर २१ गते ३:३० मा प्रकाशित

प्यूठान, २१ मंसिर–खानेपानी आयोजना निर्माण भएपछि प्यूठान दाखाक्वाडी–८ का स्थानीयवासीलाई पिउनेपानीको सुविधा भएको छ । खोला र कुवाको दूषित पानी पिउँदै आएका स्थानीयवासीलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानको सहयोगमा धाइरेचौर र भलवाङ खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरिएपछि खानेपानीको सहज भएको हो । आयोजनाबाट करिब ८०० स्थानीयवासी लाभान्वित भएका रेडक्रसले जनाएको छ ।

धाइरेचौर आयोजना निर्माणका लागि जनश्रमदान चार लाख आठ हजार ९७६ र रेडक्रसले नौ लाख १५ हजार ३७१ रुपैयाँ लगानी गरेको उपभोक्ता समितिले जनाएको छ । यो आयोजनाबाट १५ वटा सार्वजनिक धारा र १८ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको समितिका सचिव बामबहादुर केसीले जानकारी दिए ।

खानेपानी मर्मतसम्भार कोषका लागि स्थानीय र संस्थाको सहयोग गरी ३६ हजार रुपैयाँ सङ्कलन गरिएको छ ।

यसैगरी भलावाङ आयोजना निर्माणका लागि १२ लाख ३७ हजार ४०९ रुपैयाँ लागत लागेको उपभोक्ता समितिले जनाएको छ । समितिका अध्यक्ष भीमबहादुर खत्रीका अनुसार आयोजनामा रेडक्रसको ६ लाख ६९ हजार ५१४ रुपैयाँ र स्थानीयको पाँच लाख ३४ हजार २९५ रुपैयाँको जनश्रमदान रहेको छ । आयोजना मर्मतसम्भारका लागि ४० हजार ८०० रुपैयाँ संकलन गरिएको छ । दुवै आयोजनाबाट आगामी १० वर्षसम्मका लागि करिब एक हजार ५०० जनालाई खानेपानीको सुविधा पुग्ने आँखा उपचार तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रमका जिल्ला संयोजक धर्मराज शाहीले बताए ।

पानीको सुविधा भएपछि स्थानीयवासीले घरघरमा पक्की शौचालयसमेत निर्माण गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us