काँग्रेसमा सभासद चयनको किचलो

काठमाण्डु टुडे २०७० मंसिर २१ गते ३:०९ मा प्रकाशित

Nepali-Congress-Party-Officeकाठमाण्डु, २१ मंसिर–नेपाली काँग्रेसमा समानुपातिक सभासद चयनमा विवाद भएको छ । सभापति सुशील कोइराला, बरिष्ठ नेता शेर बहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आ–आफ्ना पक्षका नेताहरु धेरै पर्ने गरी नाम प्रस्ताव गरेपछि विवाद भएको हो ।

यसअघि कोइराला, देउवा र पौडेलबीच समानुपातिक सभासद चयनबारे अनौपचारिक छलफल भएको थियो । छलफलमा ति नेताहरुले गृह जिल्लाबाट मात्रै १०–१० जनाको नाम प्रस्ताव गरेका थिए । शीर्ष नेताहरुले आ–आफ्ना पक्षका सभासदको बहुमत हुनेगरी नाम प्रस्ताव गरेपछि अन्तिम टुंगो लगाउन कठीन भएको काँग्रेस नेताहरुले बताएका छन् ।

यही मंसिर चार गते भएको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फ पाएको मतको आधारमा काँग्रेसले ९१ जना सभासद चयन गर्नुपर्ने छ । समानुपातिक सभासदको नामावली चयनबारे छलफल गर्न शुक्रबार दिउँसो काँग्रेसले संसदीय समितिको बैठक बोलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us