
काठमाण्डु २० मङ्सिर–राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नु पर्ने अभिव्यक्ति दिएपछि एमाले अध्यक्ष झलनाथ खनाललाई फकाउन काँग्रेस सभापति सुशिल कोइराला उनकै निवास डल्लु पुगेका छन ।
काँग्रेसका सभापति सुशील कोइरालाले बिहिवार अध्यक्ष झलनाथ खनालसँग खनाल निवास डल्लुमा भेटवार्ता गरेका छन । सो भेटमा आगामी सरकार गठन र संविधानसभाको बैठक तथा संविधान निर्माणका विषयमा छलफल भएको थियो ।
भेटमा संविधान जारी भएपछि वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि स्वतः समाप्त हुने भएकाले यो विवादमा नअल्झन सभापति कोइरालाले एमाले अध्यक्ष खनाललाई आग्रह गरेका छन । भेटपछि पत्रकारहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै सभापति कोइरालाले भने“वर्तमान संविधानसभाको प्रमुख दायित्व नै संविधान निर्माण भएकोले सबै पार्टीले संविधान निर्माणलाई केन्द्रविन्दुमा राखेर काम गर्नु पर्दछ ।” अध्यक्ष खनालले भने नयाँ जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गरिनु पर्नेमा जोड दिएका थिए ।