नारायणकाजी भन्छन् : मैले भनेको नमान्दा यस्तो भयो

काठमाण्डु टुडे २०७० मंसिर २० गते १४:२८ मा प्रकाशित

निर्वाचनमा पार्टीले अनपेक्षित पराजय भोगेपछि विक्षिप्त बन्नुभएको थियो, विस्तारै मन सङ्लिन थाल्यो कि पीडामै हुनुहुन्छ ?

हामी विक्षिप्त भएका छैनौं । निर्वाचनमा जाने भनेका हार या जितका लागि हो । त्यसमा पनि हार करिब–करिब पक्का र जितको सम्भावना हुन्छ । त्यसले गर्दा विछिप्त हुुनपर्ने कारण नै छैन । एउटै निर्वाचनमा हुने वियज वा पराजयले यति ठूलो राजनीतिक शक्तिको भविष्य पनि निर्धारण हुने होइन । त्यसमा पनि हामी त क्रान्तिकारी पार्टीका नेता हौं ।

क्रान्तिकारी पार्टीले एउटा चुनवमा भएको जित र हारलाई निर्णायक ठान्दैन । हामी लगातार देश र जनताका पक्षमा संघर्ष गरिरहने हो । चुनाव पनि संघर्षकै एउटा मोर्चा हो । चुनावमा पनि विजय हासिल गर्ने प्रयत्न गर्दै त्यसलाई जनताको मुक्तिको थलो बनाउन प्रयास गर्ने हो । त्यसैले यहाँ कोही हारेर विक्षिप्त हुनुपर्ने र कोही जितेर मात्तिनुपर्ने म देख्दिन ।

Narayan Kaji Shrestha interview ktmtdy1

मुखले जेजे भने पनि तपाईंहरुले निर्वाचनमा भएको पराजयलाई स्वभाविक रुपलेस्वीकार गर्न सकेको त देखिएन ?

निर्वाचनको स्वच्छता र निष्पक्षताबारे हामीेले केही गम्भीर प्रश्नहरु उठाएका छौं । सबै पक्षबाट त्यसको सम्बोधन होओस् भन्ने हामीले चाहेका हौं । लोकतन्त्रमा निर्वाचनको स्वच्छता आवश्यक हुन्छ । त्यसमा पनि गम्भीर प्रश्नहरु उठे । यो कुरा हाम्रो पोजिशन कहाँ आयोसँग सम्बन्धित छैन । म फेरि दोहोर्‍याएर भन्न चाहन्छु कि हार स्वीकार गरेर नै निर्वाचनमा गइएको हुन्छ । हामीले परिणाम स्वीकार नै नगर्ने कुरा गरेका छैनौं । हारेका कारण अनावश्यक अर्घेल्याईं गर्ने र मुलुकलाई बन्धक बनाउने कुरा त हामी सोच्न पनि सक्दैनौं । हामीले त जसले निर्वाचनमा धाँधली भएको आशंकलाई बल प्रदान गरी रहेका छन्, त्यसलाई अन्त्य गर्दै निर्वाचनमा निष्पक्षता कायम गर्न पनि छानविन गरी सत्यतथ्य जनतासमक्ष ल्याइयोस मात्र भनेका हौं ।

तपाईंहरुले निर्वाचनमा नीतिगत, संस्थागत र संरचनागत धाँधली भएको दाबी गर्दै आउनुभएको छ । यो भनेको त सरकारदेखि राज्यका सबै तहको संलग्नता छ भन्ने हो । तपाईंहरुको आरोप सही हो भने प्रधानन्यायाधीश नै सरकारको नेतृत्वमा भएका बेला धाँधली छानविन हुन त गाह्रो होला ?
हामीले अदालतबाट छानविनको धाँधली गर्नुपर्‍यो भनेका त होइनौं नि । रामबहादुर र श्यामबहादुरमध्ये कसले जित्नुपर्ने थियो । राबहादुरको बुथमा के भएको थियो । बदर मत कसको मा कति पर्‍यो भन्ने कुरा उठाएका छैनौं । हामीले त उच्चस्तरीय स्वतन्त्र छानविन आयोग गठनको माग गरेको हो । दलीय सहमतिमा राज्यले आयोग गठन गर्ने भनेको हो । यो अदालतसँग सम्वन्धित प्रश्न होइन ।

निर्वाचनको स्वच्छताबारे अध्ययन र मुद्दाको फैसला त संवैधानिक अदातलतले गर्ने हो । त्यसप्रति विश्वास गर्न सक्नुभएन को देखिएन ?

यसपटकको निर्वाचनमा यसअघिको भन्दा फरक प्रकृतिको धाँधली भएको छ । त्यसैले नियमित मुद्दामामला हेर्ने अदालत वा संवैधानिक अदालतले यो स्तरको धाँधलीको आशंकालाई अध्ययन गर्न सक्दैन ।

प्रमुख निर्वाचन आयुक्तले एउटा संवैधानिक निकायले गरेको कामबारे अर्को त्यस्तै निकायले छानविन गर्न सक्दैन भनिसकेको अवस्था छ नि त ?

प्रमुख निर्वाचन आयुक्तजस्तो गैरजिम्मेवार व्यक्तिका बारेमा त कुनै नगर्नुस् । निर्वाचन आयोग निर्वाचन सम्पन्न गर्ने जिम्मेवार संस्था हो । त्यस्तो संस्थाले निर्वाचन सकिएपछि बढीमा ७० प्रतिशत मत खस्यो भन्छ । गणनापछि ८१ प्रतिशत मत आयो भन्छ र त्यसबारे जवाफ दिनु पनि पर्दैन । त्यस्तो गैरजिम्मेवार संस्था र त्यसको नेतृत्व गर्ने व्यक्तिका बारेमा म केही टिप्पणी गर्नै चाहान्न ।

जागिर छाडेर घर बसेका नीलकण्ठ उप्रेतीलाई तपाईंहरुले नै त हो नि प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेको ?

दलहरुको सहमतिमा उनलाई प्रमुख निर्वाचन आयुक्त बनाइएको हो । तर नक्कली परिणामद्वारा कसैलाई जिताउन र कसैलाई हराउन भनेर बनाइएको त होइन होला ? तर त्यस्ता पदीय हैसियत र जिम्मेवारीको समेत ख्याल गर्न नसक्ने व्यक्तिलाई प्रमुख निर्वाचन आयुक्त बनाइएकामा नेपाली जनतासामु क्षमायाचना गर्नुपर्छ ।

के नीलकण्ठ उप्रेती भन्ने एक जना व्यक्तिले चाहँदैमा देशैभर तपाईंहरुले भनेजस्तो संस्थागत धाँधली सम्भव भयो होला र ?

केन्द्रीय तहबाटै गुरुयोजना बनाएर कुनै शक्तिलाई हराउन र कुनै शक्तिलाई जिताउन षड्यन्त्र भएको गम्भीर आशंका हामीलाई लागेको छ । त्यो षड्यन्त्रपूर्ण योजना क्रियान्वयनमा तीनवटा निकाय जिम्मेवार हुनुपर्छ । पहिलो सरकार, दोस्रो निर्वाचन आयोग र तेस्रो सुरक्षा निकाय । यो तीनवटै निकायका सन्दर्भमा हाम्रो पार्टीले गम्भीर गल्ती भयो भनेर आत्मसमीक्षा गर्नुपर्ने हुन्छ । मलाई सम्झना छ यो सरकार बनाउने सन्दर्भमा पनि यस्तो सरकारमा हामी नजाऔं भनेर मैले त पटकपटक भनेको हुँ । बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा फागनु ३१ को अन्तिम सम्झौतामा हस्ताक्षर हुने दिन पनि खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गर्नु उपयुक्त छैन भनेर मैले धेरै कराएँ । तर कसैले सुनुवाई गरेनन् । मेरो भनाइ त बरु सुशील कोइरालाको नेतृत्वमा सर्वदलीय सरकार बनाएर निर्वाचनमा जानु ठीक हुन्छ भन्ने थियो

तर खिलराजलाई सरकार प्रमुख बनाइयो । त्यसमा पनि हाम्रो प्रस्तावजस्तो गरेर । दोस्रो कुरा प्रमुख निर्वाचन आयुक्तलगायतको नियुक्तिका बारेमा पनि पार्टीको बैठकमा जवर्जस्त रुपमा राखेको थिएँ । त्यो पनि भएन । पछि वैद्य समूहको आतंक देखाएर सेना परिचालनको कुरा गरियो । सेना परिचालन गर्नैहुन्न । त्यसबारे एजेण्डा नै राख्न पाइन्न भनेर उच्चस्तरीय राजनीतिक समितिको बैठकमा भनेको कुरा अहिले पनि झल्झली सम्झना भइरहेको छ । मैले यो पनि भनेको थिएँ कि वैद्य समूहलाई सहमतिमा नल्याइकन निर्वाचन गरिए त्यो ऐतिहासिक गल्ती हुन्छ । हामीले यी सबै विषयमा नेपाली जनतासामु बिनाहिच्किचाहट गल्ती भयो भन्न सक्नुपर्छ ।

सरकार आफैं बनाउनुहुन्छ, निर्वाचन आयुक्त आफैं नियुक्त गर्नुहुन्छ, सेना परिचालनको निर्णय आफैं गराउनुहुन्छ, अनि ती सबै हामीलाई हराउन र अरुलाई जिताउन लागे भनेर निर्वाचन परिणाम स्वीकार गर्दिन भन्नुहुन्छ । आममान्छेका लागि यो कुरा त पत्याउन गाह्रो छैन र भन्या ?

मैले त्यसै भएर दुईवटा कुरा गरें नि त । एउटा त यो संचरना तयार गर्न हाम्रो पनि भूमिका रह्यो भनेर नेपाली जनताका अगाडि आत्मालोचना गर्न सक्नुपर्छ । दोस्रो धाँधली भएको हो भन्ने हाम्रो गम्भीर आशंका हो । यो बारेमा सत्यतथ्य छानविन गरेर जनतामा ल्याउनुपर्छ । हामीले चुनावको परिणाम मान्दैनौं भनेका होइनौं । तर गम्भीर आशंका त पैदा भएकै छन् । काँग्रेस–एमाले र सरकार निर्वाचन आयोगले हामीले गरेका तर्क र आशंका केही पनि होइन भन्न सक्छन् त ? यसअघिका निर्वाचनहरुमा पार्टी प्रतिनिधिलाई मतपेटिकासँगै जान दिइन्थ्यो । यसपटक अधिकांश स्थानमा जान दिइएन । जाने खोज्नेलाई पनि बलजफ्ती रोकियो किन ? यसको त जवाफ चाहियो नि । मतपेटिका सीधै मतगणनास्थल जिल्ला सदरमुकाम नपुर्‍याइकन अन्यत्रै दुई चार घण्टा राखियो । कतिपय स्थानमा त रात भरि नै राखियो र पछिमात्र जिल्ला सदरमुकाम लगियो किन ? जिल्ला सदरमुकाममा लगिसके पनि सधैंजस्तो सोही दिन मतगणना गरिएन किन ?

मतपेटिका राखिएको स्थानमा पार्टी प्रतिनिधिहरु बस्थे, यसपालि कतै पनि पार्टी प्रतिनिधि बस्न दिइएन किन ? यसको जवाफ दिनुपर्‍यो । दोस्रो कुरा निर्वाचन आयोगले मतगणनाका लागि एउटा परिपत्र जारी गर्‍यो । त्यसको पनि छानविन गरिनुपर्‍यो । निर्वाचन आयोगले १० बुँदे परिपत्रमा भन्यो कि मतपेटिका फुटेको भए पनि, सिल तोडिएको भए पनि, अर्धकट्टीसहितको मतपत्र फेला परे पनि मान्यता दिएर गणना गर्नु । यो किन भनेको ? यसको चाहिं छानविन गर्नुपर्दैन ? मतदान सकिए पछि पार्टी प्रतिनिधिको रोहवरमा मुचुल्का हुन्छ, त्यो मुचुल्कामा कति मत खसेको हो स्पष्ट उल्लेख हुन्छ । त्यसैका आधारमा मतगणना हुन्छ । तर निर्वाचन आयोगले परिपत्रमा भन्यो कि त्यो मुचुल्का नभए पनि हुन्छ । निर्वाचन आयोगले के पनि भन्यो भने मतदान अधिकृतहरुलाई हामीले कालो मसीले मतपत्रमा सही गर्नु भनेका थियौं तर मतगणना गर्दाखेरि बाक्साभित्र अरु रङको मसीले सही गरेको पाइए पनि मतगणना गर्नु र मान्यता दिनु भनेको किन ? उत्तर त दिनुपर्‍यो नि ।

मतपेटिकामा खसेको भन्दा घटी वा बढी मत पाइयो त्यसलाई पनि मान्यता दिन किन भनेको ? त्यसको तर्क के हो, जनतालाई त भन्दिनुपर्‍यो नि । निर्वाचन आयोगवले मतदान भएको दिनमा औपचारिक रुपमा करिब ७० प्रतिशत मत खस्यो भन्यो । ७० भनेकामा ६५, ६९.५, ७०.९ सम्म पनि मान्न सकिएला रे । तर गणनामा ८१ प्रतिशत मत भेटिने, अनि निर्वाचन आयोगले केही पनि जवाफ दिनु नपर्ने ? यी कुराहरुको गम्भीर छानविन भएर सत्यतथ्य जनतामा ल्याउनुपर्‍यो भनेका न हौं हामीले त । हामी नेपाली काँग्रेस र एमालेका साथीहरुलाई के भन्छौं भने तपाईहरुको विजयलाई विश्वस्त बनाउन तपाईंहरुले पनि यो के गरेको हो छानविन गरौं त भन्नुपर्‍यो नि । चुनावको विश्वसनीयता स्थापित नभई लोकतन्त्र सुदृढ हुँदैन । त्यसमाथि संक्रमणकाल नै अन्त्य भएको छैन । संक्रमणकाललाई सकारात्मक ढंगले अन्त्य गर्ने, शान्ति प्रक्रिया पनि पूरा गर्न भएको संविधानसभाको निर्वाचनमा यस प्रकारका प्रश्नहरु उठेपछि के हुन्छ ? त्यस कारण काँग्रेस–एमालेले पनि उच्चस्तरीय समिति गठन गरेर सत्यतथ्य जनतामा ल्याइदिउँm भन्नु उपयुक्त हुन्छ भन्ने हाम्रो कुरा हो ।

Narayan Kaji Shrestha interview ktmtdy3

एक छिनका लागि तपाईंले माथि भनेका सबै कुरा मान्न सकिएला । तर मतगणना सुरु हुनुभन्दा पहिला तपाईंहरुले यसबारेमा बोलेको त सुनिएन  । अझ मतगणना सुरु भएर आफ्ना उम्मेदवारहरुले हार्ने देखेपछि धाँधली भयो भनेर बाहिर निस्कनुभयो । यो कुरा त सबैले देखेकै छन् ?

बाहिरबाट हेर्दा यस्तै देखिन्छ । म यसलाई नाजायज प्रश्ना वा सरोकार भन्दिन । तर कुरा के भने मतपेटिकासँग पार्टी प्रतिनिधिलाई जान नदिएपछि हामीले देशैभर प्रतिकार गर्‍यौं । मेरै निर्वाचन क्षेत्रको कुरा गर्नुहुन्छ भने हाम्रा साथीहरु मतपेटिकासँगै जान पाउनुपर्छ भनेर सडकमा सुत्नुभयो । तर जर्वजस्ती पेलेर मतपेटिका लगियो । मैले त्यो र दुई घण्टाको बाटामा समेत मतपेटिका जिल्ला सदरमुकाम नलगी बीचैमा कतै राखियो भन्ने कुरा थाहा पाइसकेपछि मुख्य निर्वाचन आयुक्तलाई फोन गरेर भनें, मतपेटिकासँग पार्टी प्रतिनिधिलाई जान किन नदिएको ?

दुई घण्टाको बाटोमा पर्ने स्थानको मतपेटिकासमेत जिल्ला सदरमुकाम नलगेर अन्त किन राख्न खोजेको भनेर सोधें । त्यसपछि उनले ‘हामी सल्लाह गरेर खबर गर्छौं हजुर’ भन्ने जवाफ दिए । प्रमुख जिल्ला अधिकारीलाई पनि यही कुरा भनें, उनले मलाई भने ‘यो त केन्द्रीय नीति हजुर हामी केही गर्न सक्दैनौं ।’ हामीले देशभर प्रतिवाद गरेका थियौं । मतपेटिकासँग जान खोज्दा धेरै स्थानमा बुटवलमा लाठी चार्ज गरियो । यो त तथ्य हो नि ? तर अहिले आएर हेर्दा जेजे गरियो त्यो गर्नै नदिएको भए के हुन्थ्यो त ? हामीले बढी सदासयता देखाएकै हौं ।

मतगणनाका लागि गएको १० बुँदे परिपत्र बाचन गरेर सुनाइएपछि सबै ठाउँमा विरोध भएको छ । तर सरकार हाम्रै पार्टीले बनाएको, निर्वाचन आयोग हाम्रो पार्टीले बनाएको भनेर धेरै विश्वास गरियो । हामी शंकाको लाभ दिएर  मतगणनामा बस्यौं । परिणामहरु अस्वभाविक आउन थालेपछि त हामीले शंका गरेको कुरा सही रहेछ भन्ने भयो । त्यसपछि बाहिर निस्कियौं । मतपेटिकासँग प्रतिनिधि जान नकिएपछि, मतपेटिका भएको स्थानमा बस्न नदिएपछि र निर्वाचन आयोगको १० बुँदे परिपत्र बाचन भएपछि देशभर विरोध भएको छ । यो कुरा सबैलाई सोध्नुस् ।

भनेपछि सेना, प्रहरी कर्मचारी सबै तपाईंलाई हराउन लागेछन् । अनि तपाईंको पार्टीले दुई पटकसम्म सरकारको नेतृत्व गर्‍यो । तपाईं आफैं गृह र उपप्रधानमन्त्री हुनुभयो । सरकारमा तपाईंहरुले सिफारिस गरेका दुई जना मन्त्री छन्, निर्वाचन आयोगमा तपाईंका मान्छे छन् । ती कसैले यति ठूलो डिजाइनको सुइँको समेत दिएनन् है ?

सबैलाई त्यसरी भन्न मिल्दैन हेर्नुस् । मत नेपाली सेनालाई पनि आक्षेप लगाउने पक्षमा छैन । तर आशंका गर्ने ठाउँ त रह्यो नि । यो कुरालाई अन्यत्र मोडेर तर्क गर्न मिल्दैन । यसको जवाफ त दिनुपर्‍यो नि, हार्‍यो त्यसकारण विरोध गर्‍यो भन्दिएर त भएन । हाम्रो आशंकाको बारेमा चाहिं छलफल नै नगर्ने । अनि तर्कका नाममा कुतर्क गरेर भयो र ?

तपाईंहरुले जितेका ठाउँमा चाहिं धाँधली गर्न भ्याएनछन् है उनीहरुले ?

के थाहा जितेको ठाउँमा पनि भयो कि ? धाँधली भएरै पनि जनताको मत बढी भएर पो जित्यो कि ? त्यो कुरा त हामीले भन्न सक्दैनौं । हामीले धाँधली मात्रै पनि भनेका छैनौं । निर्वाचन सम्पन्न भएपछि मतगणना हुँदासम्म भएका अस्वभाविक गतिविधिबारे हामीले केही गम्भीर प्रश्न उठाएका छौं । आशंकाहरु पैदा भएका छन् । त्यसलाई उत्तरित गरिनिुपर्‍यो हामीले भनेको यत्ति न हो । हामीले उठाएका प्रश्नबारे छानविन गरेर सत्यतथ्य जनताका सामु ल्याइदिनुपर्‍यो यति भन्ने हक त हामीलाई छ नि ।

तपाईंहरुको केन्द्रीय समितिले एउटा हाँसो लाग्दो निर्णय गरेछ, जितेको ठाउँमा विजय जुलुस गर्ने, हारेको ठाउँमा भण्डाफोर गर्ने, यो के गर्नुभएको ?

हामीले भण्डाफोर गर्ने भनेका छैनौं है । जितेको हो वा हारेको होस् सबै ठाउँमा गएर हाम्रा कुरा भन्ने भनिएको छ । जसले हामीलाई जितेको वा हारेको ठाउँमा मत दिनुभयो उहाँहरुलाई धन्यवाद दिने भन्ने निर्णय केन्द्रीय समितिको हो । जितेकै ठाउँमा त विजय मनाउनु के ठूलो कुरा भयो र ? जितेकै ठाउँमा त हो नि विजय मनाउने । के हारेको ठाउँमा गएर विजय जुलुस निकाल्ने त ?

तपाईंहरुलाई हराइदिएर वा अरुलाई जिताइदिएर सरकार प्रमुख, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकृतहरुले के पाए होलान ? उनीहरुलाई त जसले जिते पनि वा हारे पनि के फरक पर्छ र ?

अन्तिम निष्कर्षमा त केही पनि पाउँदैन । यस्ता ठूला षड्यन्त्रहरुमा अन्तिम सत्य अर्कै हुन्छ । तर तत्कालीक रुपमा अरु केहीलाई सत्य बनाउन खोजेर राजनीतिक परिघटनाहरु धेरै बिग्रिएका हुन्छन् । अहिले पनि जसरी हुन्छ शान्ति प्रक्रिया र विधान निर्माणको काम सफल पार्ने, अग्रग्रामी नयाँ संविधान निर्माण गर्ने, संक्रमणकालको सकारात्मक अन्त्य गर्ने र हालसम्म प्राप्त भएका राजनीतिक उपलब्धीहरुलाई संस्थागत गर्ने कुरामा हामी प्रतिबद्ध नै छौं । कुरालाई लाम्बे चौढाई गरेर मन्यत्र मोड्ने काम नगरौं न । हामीले उठाएका प्रश्नहरुलाई उत्तरित गर्ने काम गरौं । हालसम्म प्राप्त उपलब्धी यसरी संस्थागत गरेर जाऔं भन्नेबारे १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानका हस्ताक्षरकर्ता शक्तिबीच सहमति गरेर जाँदा त सबै कुरा मिलिहाल्छ नि ।

कार्टर सेन्टरसहित थुप्रै पर्यवेक्षक, सरकार, निर्वाचन आयोग सबैले निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी भयो भनिरहेका छन् । ती सबै जित्नेहरुकै पक्षमा देखिए त्यसो भए ?
कसैलाई पक्षधरतासँग जोडेर आरोप लगाउन चाहान्न । हाम्रै पार्टीका अध्यक्ष कमरेडले त निर्वाचन सकिएपश्चात विज्ञप्ति निकालेर सदासयतापूर्वक निर्वाचन सम्पन्न भएकामा सबैलाई बधाई र धन्यवाद दिएको अवस्थामा बाहिर बस्ने अरुले छानविन गरिदिएनन् भनेर गुनासो पोख्नु त्यति तर्कसंकगत हुँदैन । यतिसम्म कि हामीले उठाएका विषयलाई एकपटक गम्भीर रुपमा लिइदिनुस् भनेर आग्रह गर्न भने सकिन्छ ।

तपाईंहरु शान्ति र संविधानको कोर्षबाट बाहिर जान्नौं पनि भन्नुहुन्छ, फेरि संविधानसभामा पनि जान्नौं भन्नुहुन्छ । संविधानसभा बाहिर बसेर त शान्ति र संविधान लेखनले पूर्णता पाउन नसक्ला । यो त विरोधाभाषपूर्ण कुरा भएन र ?

कसले भनेको छ र हामी संविधानसभामा जान्नौ भनेर ? मलाई त थाहा छैन यसबारेमा ।

पत्रकार सम्मेलनमै भन्नु भएको छ नि तपाईंको अध्यक्षले ?

एउटा भावमा भनेको कुरालाई शाब्दिक अर्थको रुपमा मात्र लिनुभएन । हामीले भनेको त के हो भने संविधानसभाको निार्वचनमा धाँधली भएको हुनसक्ने बारेमा हामीले गम्भीर मुद्दाहरु उठाएका छौं । त्यसको छानविन गरेर सत्यतथ्य जनतामा ल्याइदेऊ । यो संविधानसभाको संरचनाले अहिलेसम्मका संघर्षबाट प्राप्त उपलब्धीहरु संस्थागत गर्छ कि गर्दैन भन्ने प्रश्न उब्जिएको छ । १२ बुँदे समझदारीदेखि अन्तरिम संविधानसम्म सहमत हुने शक्तिहरु मिलेर गएको खण्डमा मात्र नयाँ संविधानको सुनिश्चितता गर्न सकिन्छ भनेका हौं । यसलाई बढाइचढाई गरेर बुझ्न जरुरी छैन । हाम्रो जस्तो क्रान्तिकारी पार्टीले हार स्वीकार नगर्ने भन्ने प्रश्नै  आउँदैन । म फेरि दोहोर्‍याएर भन्न चाहान्छु, एउटा हार हाम्रो लागि निर्णायक कुरा हुनै सक्दैन । र, हामी शान्ति र संविधान लेखनको प्रक्रियाप्रति प्रतिबद्ध छौं र त्यसलाई सफल पार्न हाम्रोतर्फबाट कुनै कसर बाँकी राख्दनौं ।

भनेपछि संविधानसभामा जानु नै रहेछ, अनि भित्रि, बाहिरी कुरा किन गरिरहनुभएको ?

हामीले भित्र र बाहिरको कुरा गरेकै छैनौं । हामीले केन्द्रीय समिति बैठकबाटै भनेका छौं कि शान्ति र संविधान निर्माण प्रक्रियाप्रति प्रतिबद्ध छौं । हामीले जम्माजम्मी भनेको यत्ति हो कि धाँधली भएको हुनसक्ने आधार र आशंकाहरु धेरै देखिए, त्यसलाई उत्तरित गर्ने काम गरौं । अहिलेसम्मका संघर्षबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीताजस्ता कुरा नयाँ बन्ने संविधानमा सुनिश्चित गरिन्छ भन्ने कुराका निम्ति दलहरुका बीचमा सहमति कायम गरौं, यत्ति त हो हामीले भनेको ।

निर्वाचनमा भएको धाँधली छानविन गर्न तपाईंहरुले भनेजस्तो उच्चस्तरीय स्वतन्त्र आयोग बनेन भने के गर्नुहुन्छ ?

भएन भने के गर्ने भन्नेतिर अहिले नजाऔं । देश अंकगणितका भरमा चल्न सक्दैन । त्यसका लागि राष्ट्रिय सहमति आवश्यक छ । देश त अहिलेको राजनीतिक शक्ति सन्तुलनका आधारमा चल्छ । त्यसकारण काँग्रेस–एमालेका साथीहरुले शान्तिप्रक्रियाको मुख्य हिस्सालाई शान्तिप्रक्रियाको मुख्य पक्ष संविधान निर्माणबाट अलग राखेर हामी अंकगणितका आधारमा चल्छौं भन्ने मुर्खता गर्नुहोलाजस्तो मलाई लाग्दैन । त्यसैले हामीले अहिल्यै हुँदैन कि भन्नेतिर सोचेका छैनौं । हाम्रो कुरा तर्कपूर्ण छ, त्यसबारे छलफल गरेर चुनावको विश्वसनियता पुष्टि गरौं । संविधानसभाबाट बनाउने संविधानमा पनि अग्रगामी हुन्छ भन्ने कुरा ग्यारेण्टी गरौं । त्योबाहेक बाँकी कुराका हकमा चाहिं संविधानसभामा जसजसको जति शक्ति छ, त्यसैका आधारमा मुद्दाहरुको छिनाफानो हुन्छ । त्यो त हामीले मानेकै कुरा हो ।

Narayan Kaji Shrestha interview ktmtdy2

संविधानसभामा पार्टी पराजित हुनुमा जताततै धाँधली मात्र देखिरहनुभएको छ । आफ्नो कारण चाहिँ कतै देखिरहनु भएकै छैन । तपाईंहरुलाई जनताले नरुचाएका पनि त होलान नि, त्यसबारेमा त पूरै आँखा चिम्लिएको देखियो ?

हामीले धाँधलीको मात्र कुरा गरेका छैनौं । हाम्रो केन्द्रीय समितिको बैठकले निर्वाचनका बारेमा प्रारम्भिक समीक्षा गर्‍यो । त्यसको गम्भीर र विस्तृत समीक्षाका लागि अर्को केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यसको केही समयपछि नै हामी पार्टीको राष्ट्रिय सम्मेलन गर्दैछौं । हामी अझै गम्भीर र विषद् समीक्षा गरेर यथार्थमै पुगेर निष्कर्ष निकाल्ने पक्षमा छौं । अहिले प्रारम्भिक समीक्षामै पनि हामीले धाँधलीको गम्भीर आशंकासहित छानविन आयोग गठन गर भन्ने माग मात्र उठाएका छैनौं । पार्टीको आत्मगत कमजोरीलाई पनि हामीले हेर्नसक्नुपर्छ, त्यसको निर्मम आत्मसमीक्षा गर्नुपर्छ भनिसकेका छौं । अझ हामी यो विषयमा गम्भीर छलफल गर्दैछौं । हामीले भनेका छौं कि हाम्रो आत्मगत कमजोरीलाई लुकाउनु हुँदैन । त्यसको निम्ति पनि लेखाजोखा गर्नुपर्छ, तब मात्र ती कमजोरी सच्याउन सकिन्छ भन्ने निष्कर्षमा पुगिएको छ ।  हामी ठान्छौं कि आजको दिनमा पनि अरुको तुलनामा हाम्रो पार्टी जनताप्रति प्रतिबद्ध क्रान्तिकारी पार्टी हो । तर एउटा क्रान्तिकारी सर्वहारावादी पार्टीमा हुनुपर्ने गुण र चरित्रमा स्खलन भयो, केही गिरावट आयो, नेता र कार्यकर्तामा पदमुखी, शक्तिमुखी, पैसामुखी र सुविधामु्खी प्रवृत्ति बढ्दै गएको र त्यसले पनि परिणाममा केही असर पार्‍यो भन्ने हाम्राे निष्कर्ष हो ।

दोस्रो कुरा संगठनको हो । हामीले तलसम्म कति संगठन गर्‍यौं । संगठनलाई वडावडा र गाउँगाउँसम्म पुर्‍याउन कति काम गर्‍यौं भन्ने कुरा पनि विचारणीय प्रश्न छ, त्यसमा पनि हाम्रो कमजोरी भएको छ । तेस्रो कुरा पार्टी फुट भयो । पार्टी फुटले केही पनि नकारात्मक असर परेन भन्न त मिल्दै–मिल्दैन । त्यसै गरी जनतासँगको सम्बन्ध र जनताले हामीलाई गर्ने समर्थनका बारेमा के ठानियो भने हाम्रो पार्टी जनताका हकअधिकारका निम्ति लड्यो । गणतन्त्र र उत्पीडित जाति, क्षेत्र र लिंगका हकअधिकारका निम्ति लडेको इतिहास र तथ्य सबैलाई प्रष्ट छ । र हामीले एजेण्डा पनि जनताको परिवर्तनका पक्षमा उठाएका छौं भने जनताले स्वत: समर्थन गरिहाल्छन् भन्ने कोणबाट सोच्यौं । त्यो एउटा महत्वपूर्ण पक्ष त हो । त्यसका साथसाथै जनतासँग हामी कति घुलमिल भयौं वा उनीहरुसँगको निकट सम्बनधमा कति रह्यौं भन्ने कुराको धेरै महत्व छ । त्यसमा हाम्रो कमजोरी भयो । जनतामा जाने कुरालाई पछिल्लो केही वर्षयता हामीले कहिल्यै प्राथमिकतामा राखेनौं । अर्को कुरा के पनि हो भने यो संक्रमणकालको सीमाभित्र संयुक्त सरकार जो हामीले बनायौं । सीमाहरुका वाबजुद त्यसले जनताको पक्षमा गर्न सक्नेजति कति काम गर्न सकियो र आचरण के देखाइयो त्यसको पनि समीक्षा गरिनुपर्छ ।

एकातिर जनताले आशा बढी गरेको, हामीले भने गर्नसक्ने सीमाको हदसम्म पनि काम नगरेको कारणले जनता र हाम्रो बीचमा केही खुकुलो पन आयो कि ?

यो कुरालाई पनि अस्वीकार गर्ने ठाउँ छैन । यी विषयमा हाम्रो ध्यान गएकै छ । त्यसका साथसाथै नीतिगत पक्षहरुमा पनि हामीले विचार गर्नुपर्ने हुन्छ । समीक्षाका एजेण्डाहरुका बारेमा प्रवेश गरिसकेका चाहिं छैनौं । तर हामी सबै विषयमा छलफल चाहिं गम्भीर ढंगले चलाउँछौं । त्यसैले हामीले आन्तरिक कमजोरीलाई पटक्कै ध्यान दिएका छैनौं भन्ने कुरा सही होइन । यसमा पर्याप्त ध्यान दिन सकिएन भने हाम्रो आगामी यात्रा ठीक ढंगले अघि बढ्न सक्दैन भन्ने कुरामै हामी छौं ।

चुनावअघि सहमतिका नाममा प्रक्रियामा नजाँदा विघटित संविधानसभाबाट संविधान जारी हुन सकेन । यसपटक हामीलाई दुई तिहाई बहुमत दिनुस् प्रक्रियाबाट संविधान जारी गर्छ भन्नुहुन्थ्यो मतदातालाई, तर आफूले भनेजस्तो परिणाम नआएपछि फेरि सहमतिको कुरा गरिरहनुभएको छ, किन ?

न्यूनतम कुरामा त हामीले हिजो पनि सहमति खोजेकै हो नि । आज पनि सहमतिकै पक्षमा छौं । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीताजस्ता न्यूनतम उपलब्धीबाट कोही पनि पछि हट्न सक्दैन । अब रह्यो संघीयता कस्तो ? भन्नेबारेमा प्रक्रियामा गएर सहमति होस् । हामी मान्न तयार छौं । त्यसपछि मजदुर किसानका हित र जनताका सार्वभौम अधिकारबारे संविधानमा उल्लेख गर्नुपर्ने विषय, राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित मुद्दा हामी फेरि उठाउँछौं । त्यसमा सहमति हुन नसके प्रक्रियामा गएर टुंगो लाग्छ । त्यसमा हामीले अहिले पनि अन्यथा केही भनेका छैनौं । तर १२ बुँदे समझदारीेदखि अन्तरिम संविधानसम्म सँगै आएका शक्तिबीच न्यूनतम समझदारी त हुनैपर्‍यो नि । हामीले यो चाहिं भनेका होइनौं कि, संविधानसभा मान्छौं भन्नुको अर्थ निरंकुश राजतन्त्र वा पञ्चायती व्यवस्था पुनस्र्थापित भए पनि मान्छौं भनेको त होइन । अहिले पनि हामी प्रक्रियाको विरोधमा छैनौं । न्यूनतम कुरामा सहमति गरौं, अन्य विषयलाई प्रक्रियामार्फत टुंगो लगाऔं, हाम्रो कुरा त प्रष्टै छ ।

Narayan Kaji Shrestha interview ktmtdyराष्ट्रपति परिवर्तन हुनुपर्छ र हुनुहुँदैन भन्ने बहस सुरु भएको छ ? यसमा तपाईंहरुको धारणा के छ ?
यस सम्बन्धमा हामीले औपचारिक रुपमा छलफल सुरु गरेका छैनौं । यसमा काँग्रेस र एमालेले छलफल गरिरहेका होलान् । हामी त्यो छलफलमा सामेल पनि छैनौं । सामान्य तर्कका आधारमा साथीहरुले आफ्ना विचारहरु राखिरहनुभएको होला, कि राष्ट्रपतिको निर्वाचन गरेको संस्था नै नरहेको र अर्को जनदेश आइसकेको अवस्थामा राष्ट्रपति चाहिं त्यही राखिरहने भन्ने कुरा सही होइन । तर  हामीले औपचारिक छलफल गरेर निष्कर्ष निकालेका भने छैनौं । काँग्रेस–एमालेले औपचारिक र आधिकारिक रुपमा के सोचेका छन् त्यो पनि थाहा छैन ।
भावी सत्तासमीमरण कस्तो होला ? तपाईहरु सरकारमा जानुहुन्छ कि जानुहुन्न ?
सरकार अहिले हाम्रो चासो र सरोकारको विषय होइन । हाम्रो त अहिलेसम्म संघर्ष र बलिदानबाट प्राप्त उपलब्धी कसरी संस्थागत गर्न सकिन्छ भन्नेमा मात्र हाम्रो ध्यान केन्द्रित छ ।
तपाईंहरुको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डलाई राष्ट्रपति बनाउने प्रस्ताव आयो रे भन्ने सुनिएको छ, के हो ?
यो बाहिरी हल्ला हो । त्यसबारेमा नत पार्टीको नत अध्यक्ष कमरेडकै कुनै सोच छ । यस्ता कुराको भ्रममा कोही नपर्दा हुन्छ ।
किन चल्यो होला त त्यस्तो हल्ला ?
हल्ला कसले चलायो, किन चलायो हाम्रो चासो नै छैन । त्यस्ता हल्ला चलिरहन्छन् । त्यसलाई कुनै महत्व दिएका छैनौं ।

त्यसो भए राष्ट्रपति पनि चाहिएन, सरकारमा पनि जानुहुन्न ?
अहिले सरकारको कार्यसूचीलाई अघि राखेर छलफल गर्ने वा त्यसबारे सोच्ने समय नै होइन । प्राप्त उपलब्धी कसरी संस्थागत गर्ने, संक्रमणकालको कसरी सकारात्मक अन्त्य गर्ने भन्ने विषयमा सम्पूर्ण ध्यान लगाउनुपरेको बेलामा सरकारमा को–को जाने भन्ने कुरा सोच्ने फुर्सद नै हामीलाई छैन ।
तर पूर्वकर्मचारीहरुले चलाएको सरकारका भरमा देश कति दिन चल्ने ? यसलाई बिदा गरेर ताजा जनादेशअनुसार सरकार त बन्नुपर्‍यो नि ?
हामीले संक्रमणकालको कसरी अन्त्य गर्ने भन्ने बारेमा साझा सहमति बनाऔं भनेका छौं । सरकारका बारेमा ठूलो दलका हैसियतमा काँग्रेस र एमालेले सोचुन् न । उहाँहरुले चलाए भइहाल्यो नि । सरकार हाम्रो प्राथमिकताको विषय होइन । त्यसबारे केही सोचेका पनि छैनौं ।
तपाईंहरुलाई सरकार चलाउने म्याण्डेट पनि त छैन नि ?
त्यही कारणले त हामीले सरकार यसरी बनाउनुपर्छ भनेका छैनौं नि । हामीले किन चासो राख्ने त्यसमा ?
तपाईंकै पार्टीका कतिपय नेता सरकार र संविधानसभामा जानुपर्छ भनिरहेका छन् ?
व्यक्तिगत रुपमा बोल्ने र सोच्ने अधिकार सबैलाई छ । तर अहिलेसम्म भएका उपलब्धीहरु नगुम्ने स्थितिको सिर्जना कसरी गर्ने, ती उपलब्धीलाई नयाँ संविधानमा कसरी संस्थागत गर्ने, उपलब्धी संस्थागत गर्दै नेपाली क्रान्तिको बाँकी कार्यभार कसरी पूरा गर्ने भन्नेबाहेक अरु कुरालाई हामीले चासो दिएका छैनौं ।
अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराई संविधानसभामा नजाने र तपाईं जसरी पनि जानुपर्छ भन्ने पक्षमा हुनुहुन्छ रे हो ?
पार्टीमा यसबारेमा गम्भीर छलफल र बहस भइरहेको छ । तर जसरी पनि जानुपर्छ र कुनै पनि हालतमा जानु हुँदैन भन्ने कोणबाट चाहिं छलफल भएको छैन । कुरो के हो भने संविधानसभाबाट नयाँ अग्रगामी संविधान जारी गर्छौं, अहिलेसम्म प्राप्त न्यूनतम उपलब्धी संस्थागत गर्छौं भन्ने वातावरण निर्माण भएको खण्डमा संविधानसभामा गएर अग्रगामी संविधान सुनिश्चित गर्न प्रयास गर्नुपर्छ । त्यसको अर्थ हामीले उठाएका धाँधलीसम्बन्धी प्रश्नमा छानविन आयोग गठन गर्ने कुरालाई छोडेको भन्ने होइन । १२ बुँदे समझदारीदेखि यहाँसम्मका राजनीतिक सहयात्री दलहबीच समझदारी गर्ने प्रयास गर्छौं भन्ने कुरा छोडेको पनि होइन ।

तपाईं निर्वाचनमा पराजित भएर पनि मनोनित हुने २६ जनाबाट संविधानसभामा पुग्न लविङ गरिरहनु भएको छ रे ?
यो एक सय प्रतिशत झुठ कुरा हो । मैले त झन त्यसरी सोच्नै मिल्दैन । नेपाली काँग्रेस र एमालेका शीर्ष नेताहरुले अनुरोध त गर्नुभएको हो । हाम्रो पार्टीका पनि कयौं साथीहरुले जानुपर्छ भन्नुभएको छ । मैले चाहिं त्यसबारेमा सोचेकै छैन । झन यो लविङ गरेको भन्ने त सरासर झुठ कुरा हो । निर्वाचनमा पराजित भइसकेको व्यक्तिले त्यसरी सोच्न मिल्छ र ? मैले त सार्वजनिक सभामै यो विषयमा भनिसकेको छु । मकवानपुरको शिखरपुरमा केही दिनअघि एउटा सभा भएको थियो । त्यहाँ तलबाट जोडदार रुपमा जानै पर्छ भनेर कुरा उठाइयो । मैले चाहिं उहाँहरुलाई भने कि मलाई यस्तो ठाउँमा नपुर्‍याउँनुस् । म अहिलेसम्म स्वच्छ छविको, राजनीतिक चरित्रमा कुनै प्रश्न नउठेको र मेरा राजनीतिक विश्लेषण सही सावित भएका स्थितिहरु छन् । त्यसकारण तपाईंहरुले प्रश्न उठाउने काम नगर्नुहोला भनेको छु । सार्वजनिक भाषणमा भनेको त्यो टेप तपाईं सुन्न सक्नुहुन्छ ।
अहिले यसो भन्ने अनि पछि चाहिं माधव नेपालले झैं मलाई त इच्छै थिएन । सबैले तपाईं चाहिन्छ भन्न थाले त्यसैले आएको भन्नका लागि वातावरण बनाउनु भएको हो ?
त्यो बारेमा मैले केही भन्नु छैन । मैले त्यसरी सोच्नु सही हुन्छ भन्ने लागेको छैन । पदको निम्ति मरिहत्ते गर्ने पक्षमा म छैन ।
निर्वाचनलगत्तै तपाईंहरुले मोहन वैद्यलाई भेट्नुभयो, के कुरा भएको थियो ?
जो हुनुपथ्र्यो त्यही भयो भन्ने भयो ।
हानुपथ्र्यो ठीक भयो भन्नु भएको हो ?
उहाँले तपाईहरुको पछिल्लो विश्लेषण सही छ । संविधानसभामा जानुहुँदैन । त्यसो भयो भने दुई पार्टी मिल्ने आधार तयार हुन्छ भन्नुभयो । हामीले सबै कुराको समीक्षा गर्दै गरौंला । हामीले देश र जनताको पक्षमा लड्ने तरिकाका बारेमा हाम्रो बीचमा अन्तरसंघर्ष भयो । पार्टी फुट्नु हुने थिएन, फुट्यो । त्यसपछि पनि तीता पिरा परिस्थितिहरु आए । ती सबै कुरालाई बिर्सिएर देश र जनताको मुद्दामा मिलेर जानुपर्छ भन्यौं ।
वैद्यजीले तपाईंहरु हारेकामा हामी खुसी छैनौं भन्नु भएछ होइन ?
प्रत्यक्ष रुपमा भेटेर कुराकानी भएको बेलामा तपाईहरुले हार्दा खुसीले गदगद् भइयो भनेर त कसले भन्छ र ?
वैद्यजीले कात्तिक २४ गते प्रचण्डलाई टेलिफोन गरेर तपाईंहरुको विपक्षमा परिणाम आउँदैछ, बरु हामीलाई नै बहाना बनाएर चुनान रोक्नुस् भन्नुभएको रहेछ, त्यस विषयमा ध्यान गएन छ है तपाईंहरुको ?
त्यो त मलाई थाहा छैन ।
पार्टी एकताको कुरा पनि भयो ?
त्यो विषयमा प्रवेशै गरिएन ।
पार्टी एकता होला त ?
व्यक्तिगत रुपमा पनि पार्टी फुटबाट सबैभन्दा दुखी भएको व्यक्ति म हुँ । एकताका लागि पहल पनि गरिरहेको छु । तर नढाँटी भन्नुपर्दा मैले तत्काल पार्टी एकताको सम्भावना देखेको छैन । किनभने पार्टी एकताका लागि न्यूनतम राजनीतिक वैचारिक विषयमा कुरा मिल्नुपर्छ । हाम्रो सातौं महाधिवेशनको निर्णय गलत भएको निष्कर्षमा हामी पुगेको वा उहाँहरुले त्यसलाई आत्मसात गरिसकेको अवस्था होइन । तर पार्टी एकताको सम्भावना नरहेको अवस्थामा पनि हामीले देश र जनताको हितमा राष्ट्रिय स्वाधीनता, मजदुर, किसानको हित र परिवर्तनसँग सम्बन्धित मुद्धामा कार्यगत एकता गरेर जान सकिन्छ । उहाँहरु निर्वाचनमा भाग नलिएको भए  पनि संविधान निर्माण प्रक्रियामा कुनै विधिद्वारा सहभागी गराउन सकिन्छ कि भन्नेबारेमा साझा बिन्दु खोजी गर्न सकिन्छ ।
तर उहाँहरुले त भनिसक्नु भएको छ नि कसैले दयामायाँले दिएको जुठो पुरो खाँदैनौं भनेर ?
त्यो पनि भन्नु भएको छ । अर्को पनि त भन्नु भएको छ नि व्यक्तिले भनेको हो वा पार्टीले आधिकारिक रुपले भनेको हो त्यो थाहा छैन । उपयुक्त स्थान दिने हो भने संविधानसभा र सरकारमा आउँछौं भन्नु भएको छ । कुन चाहिं सही हो भनेर मान्ने ?
पार्टी हारेपछि एक महिने अभियान लिएर गाउँगाउँ गइरहनुभएको छ । तपाईं त पहिलो पटक निर्वाचनमा भाग लिनुभएको । हारेर गएपछि जनताले के भनेका छन् ?
मलाई त विचित्रको अनुभूति भएको छ । मलाई जनताले यतिधेरै माया र स्नेह दिनुभएको छ कि मैले मत नदिनेहरुलाई पनि धन्यवाद दिएर आएको छु । जतिले समर्थन गर्नुभयो ती त भन्यवादका पात्र भए नै । तर जसले मलाई मत दिनुभएन तर सहभागी भएर निर्वाचन सफल पार्न योगदान गर्नुभयो उहाँहरु पनि धन्यवादका पात्र हुनुहुन्छ ।मेरो पार्टी र मेरै कमजोरीले पराजित भएको हुँ भन्ने ठानेको छु । कमजोरी मेरै हो कि मेरो उम्मेदवारीको महत्व बुझाउन सकिन । जनताले मलाई अगाध मायाँ, स्नेह र समर्थन दिनुभएको छ । अहिले जाँदाखेरी पनि मलाई नै संकोच लाग्ने गरी विजय जुलुसजस्तो मानिसको ओइरो लागेको छ । जहाँ गयो त्यहीं अविर, माला लगाइदिने, सडकसडकमा मानिसहरु निस्किएका छन् । त्यस्तो स्थिति देखियो । मलाई मत नदिनेहरुले पनि यो के गल्ती गरिएछ भन्न थाल्नुभएको सुनेको छु । जित्नै भनेर चुनाव लड्न गएको हो ।

रिपोर्ट पनि त्यस्तै आएको थियो । तर मैले जानासाथ भनेको थिएँ, अध्यक्ष र बाबुराम कमरेडलाई कि मेरो ठाउँमा संगठन साह्रै कमजोर रहेछ । धेरै मिहेनत गरेपछि मात्र चुनावलाई विजयमा पुर्‍याउन सकिन्छ । अहिले त्यस्तो स्थिति छैन पनि भनेको थिएँ । तर उहाँहरुले तपाईंको त झन सबैभन्दा सुनिश्तिच भनेको हामीले भन्नुभयो । बाबुरामजीले समीक्षा बैठकमा राख्नु पनि भयो । प्रकाशजीले त संगठन कमजोर छ भन्नुभएको थियो, हामीले पत्याइएन भन्नुभयो । तै पनि अहिले १० हजार ७ सय मत आयो, ५ सय मतमा ल्याप्चे लगाइयो । मतदाता शिक्षाको कमी देखियो । मालेकै मतै छैन, ९ सय मत हाम्रो त्यता गयो । त्यसै पनि १४ माग त बदर भएको देखियो । मलाई कुनै पछुतो छैन । विगतमा जनताका बीचमा जे प्रतिबद्धता गरेको थिएँ । त्यही प्रतिबद्धताका साथ फेरि गएको छु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us