‘प्रदूषण नियन्त्रणमा नास्टको भूमिका’

काठमाण्डु टुडे २०७० मंसिर २० गते १३:४० मा प्रकाशित

khilraj regmiकाठमाण्डु, २० मंसिर– मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले जलवायु परिवर्तन, जल प्रदूषण तथा वायु प्रदूषण नियन्त्रण र न्यूनीकरणमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)को महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नास्टको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई बिहिबार ललितपुरको खुमलटारमा सम्बोधन गर्दै उनले भने, ‘यसै वर्षदेखि प्रत्येक असोज एक गते सरकारले विज्ञान दिवस मनाउन थालेको र विज्ञान र प्रविधिको विकासका लागि सरकार प्रतिवद्ध भएर लागेको छ ।’

नास्टको भूमिका दिन प्रतिदिन बढ्दै गएको भन्दै उनले विज्ञानको विकास र विस्तार जनताको उन्नतिका लागि हुनुपर्नेमा जोड दिए । ‘मुलुकलाई विज्ञान र प्रविधिले युक्त बनाउन सरकारका तर्फबाट हरदम सहयोग गरिएको र त्यसमा सबैको उत्तिकै साथ र सहयोग रहे उच्चतम विकास गर्न सकिने छ’, उनको भनाइ थियो ।

नास्टले आफ्नो क्षमता विस्तार गर्न र विज्ञान तथा प्रविधिको क्षेत्रलाई प्रर्वद्धन गर्न अझै धेरै काम गर्न बाँकी रहेकोमा जोड दिँदै अध्यक्ष रेग्मीले यसको फल जनताका लागि हुनुपर्नेमा जोड दिए । ‘विज्ञान र प्रविधि, देशको समृद्धि’भन्ने यस वर्षको नारालाई सार्थक बनाउन उनले नास्टलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us