
धनुषा, २० मंसिर– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रपति फेर्नेबारे आफूहरुले विषय प्रवेश नगरेको स्पष्ट पारेका छन् ।
उनले भने, ‘असहज र अस्वाभाविक खालको निर्वाचन परिणामको छानबिन गर्न एउटा आयोग बनोस् भन्नेबारे दलहरुबीच कुरा भइरहेको छ । हामी राष्ट्रपति के हुने भन्नेबारेमा प्रवेश नै गरेका छैनौं ।’
सिरहा जाने क्रममा बिहिबार जनकपुर आइपुगेका प्रचण्डले जनकपुर विमानस्थलमा कुरा गर्दै संविधान बनाउन आवश्यक वातावरण बनाउन जरुरी रहेको उल्लेख गरे । ‘सम्पन्न संविधानसभा निर्वाचनलाई विश्वसनीय बनाउने हो भने आयोग गठन गरी शङ्का उठाइएका ठाउँहरुको छानबिन गराइनुपर्छ’ प्रचण्डले भने ।
उनले राज्यको उपेक्षाको शिकारले जनकपुर पछाडि परेको बताउँदै सरकारले एकीकृत योजना ल्याएर पशुपतिनाथ, लुम्बिनी र जनकपुरलाई जोड्न सके नेपालको आर्थिक विकास चाँडो हुने दाहोर्याए ।