
काठमाण्डु, २० मंसिर– राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत बिहिबार भएको खेलमा विभागीय टिम नेपाल प्रहरी क्लब विजयी भएको छ ।
दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा नेपाल प्रहरी शसस्त्र प्रहरी बल (एपिएफ) लाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपाल प्रहरीको जितमा जुमानु राईले ह्याट्रिक पूरा गरे । उनले खेलको पहिलो हाफको २८ औँ मिनेटमा भोला सिलवालको क्रस पासमा गोल गरे ।
यस्तै खेलको दोस्रो हाफको ६५ औँ मिनेटमा युगल किशोर राईले दिएको बललाई गोलमा परिणत गर्दै उनले दोस्रो गोल गरे भने खेलको ७१ औँ मिनेटमा रविन श्रेष्ठले दिएको पासलाई सदुपयोग गर्दै ह्याट्रिक पूरा गरे । यस जितसँगै प्रहरीले ३ अङ्क जोडेको छ ।
खेलको निर्धारित समयसम्म पनि एपिएफले भने खासै गोल गर्ने अवसर सिर्जना गर्न सकेन । खेलको पहिलो हाफमा कप्तान गणेश लावतीले प्रहार गरेको बल क्रसबारमा लागेर फर्किएको थियो । दुई खेल खेलेको एपिएफ अङ्कविहीन छ भने यस हारसँगै एपिएफ लगभग प्रतियोगिताबाट बाहिरिएको छ ।
खेलपछि नेपाल प्रहरीका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले खेलको पहिलो हाफको १५ औँ मिनेटसम्म आफ्ना खेलाडीलाई निकै गा¥हो परेको र डिफेन्स परिवर्तन गरेपछि जित हासिल गर्न सजिलो भएको बताए ।
यस्तै एपिएफका प्रशिक्षक कृष्ण थापाले आफ्नो टिमको लक्ष्य भनेको ‘ए’ डिभिजन लिगमा सहभागी हुने भएकाले आजको हारले आफूलाई खासै असर नपारेको उल्लेख गरे ।