माधव नेपालको घरमा राजदूतहरुको ओइरो

काठमाण्डु टुडे २०७० मंसिर २० गते १२:५५ मा प्रकाशित

Madhav-Kumar-nepalकाठमाण्डु, २० मंसिर– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग बिहिबार दुई देशका राजदूतले भेटवार्ता गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई र इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत अरसद साउद खोसाले नेपालसँग भेटवार्ता गरेका हुन् ।

नेपालको निवास कोटेश्वरमा अलग अलग भेटवार्तामा राजदूतहरुले संविधानसभा निर्वाचनपछिको परिस्थितिमा राजनीतिक दलहरुबीच समझदारी र संविधान निर्माणबारे जिज्ञासा राखेका थिए ।

नेता नेपालका सहयोगी मोहन गौतमका अनुसार राजदूत चुन्ताई र पूर्व राजदूत एवम् प्रतिनिधिमण्डलका प्रमुख याङ् होउलान सम्मिलित चिनियाँ टोलीले हालै चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं बैठकले पारित गरेको आर्थिक एजेन्डा र  परराष्ट्र नीतिबारे पूर्व प्रधानमन्त्री नेपाललाई अवगत गराएका थिए ।

पाकिस्तानी राजदूतले नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन पाकिस्तान सरकार तयार रहेको उल्लेख गर्दै जारी सङ्क्रमणकालको छिट्टै अन्त्य गरी अगाडि बढ्न नेपाललाई शुभकामना दिए ।

राजदूतहरुसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले एमाले सहमति र सहकार्यको माध्यमद्वारा अघि बढ्न चाहेको तर काँग्रेसका कतिपय नेताहरुको अभिव्यक्तिले ऊ एक्लै चल्न खोजेको आभाष दिलाएको र त्यसो गर्नु राम्रो नहुने प्रतिक्रिया दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us