
काठमाण्डु, २० मंसिर– एकीकृत नेकपा माओवादी लगायत केही दलहरुले दोस्रो संविधानसभा निर्वाचनमा धाँधली भएको आरोपको नेपाली सेनाले खण्डन गरेको छ ।
सेनाको संग्लनतामा धाँधली भएको भन्ने आधारहिन, तथ्यरहिन भएको भन्दै सेनाले प्रचारबाजीका रुपमा त्यस्ता हल्ला आएको दावी गरेको छ । बिहिबार साँझ एक विज्ञप्ति जारी गर्दै सैनिक जनसम्पर्क निर्देशनालयले धाँधलीबारे ‘सेनाको अराजनैतिक एवं व्यवसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारवाजी’ भनेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको निर्णयबाट प्राप्त कार्यादेश बमोजिम नेपाली सेनाले आफ्नो जिम्मेवारी इमान्दार एवं कर्तव्यनिष्ट भई पालना गरेको परिप्रेक्षमा केही सञ्चारमाध्यममार्फत निर्वाचनमा धाँधली भएको भन्ने नाममा आधारहीन, तथ्यरहीत एवं भ्रमपूर्ण प्रचारबाजी गरी राष्ट्रिय सेनालाई अनावश्यकरुपमा विवादमा तानी नेपाली सेनाको अराजनैतिक एवं व्यवसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारवाजीप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।’
सेनाको भूमिकालाई नेपाल सरकार, निर्वाचन आयोग, कुटनीतिक क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वतन्त्र पर्यवेक्षक, नागरिक समाज, सञ्चारजगत लगायत संलग्न सबै क्षेत्रबाट समेत प्रसंशा भएको भन्दै नेपाली सेनाले निर्वाचनमा निर्वाह गरेको निष्पक्ष भूमिकालाई नेपाली जनताले आत्मसात् गरी वास्तविकता बुझेको सेनाको भनाइ छ ।
‘नेपाली सेनाले निर्वाचनमा निर्वाह गरेको निष्पक्ष भूमिकालाई सम्पूर्ण नेपाली जनताले आत्मसात् गरी वास्तविकता बुझेको तथ्यप्रति नेपाली सेना विश्वस्त र गौरवान्वित छ । नेपाली सेना सदैव देश र जनताको सुरक्षाप्रति कटिबद्ध छ’, भन्दै सरकारले दिएको कार्यदेशअनुसार इमान्दारीपूर्वक, उत्कृष्ट एवं व्यवसायिक ढंगले भूमिका निर्वाह गरेको जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।