‘यो संविधानसभा भंग गरेमात्र निकास’

काठमाण्डु टुडे २०७० मंसिर २० गते ११:४९ मा प्रकाशित

Dev-Gurungकाठमाण्डु, २० मंसिर– नेकपा–माओवादीका सचिव देव गुरुङले अहिलेको संविधानसभा पश्चगामी प्रकृतिको भएकोले यसबाट निकास सम्भव नभएको भन्दै संविधानसभालाई भंग गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय राजनीतिक सहमति खोजे मात्रै निकास हुने दावी गर्दै उनले अहिलेको संविधानसभाबाट जनताको संविधान बन्नै नसक्ने, बनि हाले पनि केबल २०४७ संविधानमा सामान्य फेरबदल गरेर मात्र जारी हुने बताए ।

काठमाण्डुमा आयोजित साक्षात्कारमा बोल्दै नेता गुरुङले निकासको लागि शक्ति सन्तुलनको आधारमा संविधानसभा भंग गरेर गोलमेच सम्मेलनको बाटोबाट नयाँ शिराबाट सहमति खोज्नु पर्ने धारण व्यक्त गरेका हुन् । असंवैधानिक रुपमा गरिएको निर्वाचनले वृहत् शान्तिसम्झौता असफल बनाएको दावी उनको थियो ।

उनले भने, ‘बृहत् शान्तिसम्झौता असफल भइसक्यो त्यसैले अब राजनीतिक सहमतिको आधारमा नयाँ शिराबाट सहमति खोजिनु पर्छ । यो संविधानसभाबाट सहमति हुन सक्दैन । त्यसो गर्न खोजिए हाम्रो सामु सडक आन्दोलनमा जानुको विकल्प रहँदैन ।’

एमाओवादीसँग सहकार्य

गुरुङले निर्वाचनको सम्पूर्ण प्रक्रिया गलत भएको निश्कर्षसहित अगाडि आए एमाओवादीसँग सहकार्य हुन सक्ने सम्भावना व्यक्त गर्दै अहिले जस्तै धाँधली भन्दै विरोधमात्रै गरिरहे सहकार्य असम्भव रहेको बताए ।

उनले भने, ‘मुलुक २०४८ सालको अवस्थामा पुग्यो । यसबाट शिक्षा लिएर एमाओवादी पुरै प्रक्रियाको विरोधमा आए सहकार्य हुन सक्छ नभए धाँधलीको विरोध गरेरमात्रै सहकार्यको सम्भावना रहँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us