‘राष्ट्रपति पद कसैको बिर्ता होइन, काँग्रेसले जे भन्यो त्यही मानिदैन’

काठमाण्डु टुडे २०७० मंसिर २० गते ११:३७ मा प्रकाशित

raghuji panta and gagan thapaकाठमाण्डु, २० मंसिर– एमालेका नेता रघुजी पन्तले काँग्रेसको सबै सर्त मानेर एमाले सरकारमा जान नसक्ने बताएका छन् । उनले आवश्यकता परे राष्ट्रपति, प्रधानमन्त्री र सभामुख पदका लागि उम्मेदवारी दिन समेत एमाले तयार रहेको बताए ।

उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री र सभामुख पद कसैको बिर्ता होइन । बहुमत आए जस्तो गरेर काँग्रेसले यो–त्यो हुँदैन भन्ने हो भने एमाले सरकारमा जाँदैन ।’ उनले शक्ति बाँडफाँडमा नेपाली काग्रेससँग सहमति नभए एमाले आफ्नै नेतृत्वमा सरकार बनाउन वा प्रतिपक्षमा बस्न पनि तयार रहेको पनि बताए ।

रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा बोल्दै नेता पन्तले यसको फैसला नयाँ जनादेश अनुसारको संविधानसभाले फैसला गर्नु पर्छ । उनले भने, ‘संविधानसभा सर्वशक्तिमान छ यसले नयाँ राष्ट्रपतिको चयनको लागि संविधान संसोधन गर्न परे पनि गर्नु पर्छ ।’

उनले प्रमुख दलहरु मिलेर संविधान निर्माण र मुलुकलाई निकास दिउन भन्ने जनादेश भएकोले संविधान निर्माणमा सहज हुने गरी कम्तिमा पनि दुई तिहाई बहुमतको समर्थन भएको सरकार निर्माण हुनु पर्ने पार्टीको धारणा सुनाउँदै एमाले र काँग्रेस मात्र भएको सरकार निर्माण प्राथमिकता नभएको धारणा राखे ।

भागबण्डा गर्नुहुँदैनः गगन

साक्षात्कारमा काँग्रेसका नेता गगन थापाले राष्ट्रपतिको विषयमा नेपाली काँग्रेस अन्तरिम संविधानमा भएको व्यवस्थाविरुद्ध जान तयार नभएको स्पष्ट पार्दै अहिले भागबण्डा राजनीति गरे मुलुक अझै जटिल अवस्थामा पुग्ने चेतावनी दिए ।

उनले भने, ‘अन्तरिम संविधान नमानेर संविधान बाहिरबाट हल खोजे संविधानसभाको निर्वाचन नमान्ने र धाँधली भयो भन्ने पक्षलाई फाइदा हुन्छ । यो विषयमा सबै गंभिर बन्नु पर्छ । राष्ट्रपतिको कार्यकालको विषयमा संविधानमा स्पष्ट व्यवस्था छ । त्यसैले संविधान बाहिर जानु हुँदैन ।’

अहिले मुलुकमा जवरजस्ती रुपमा निर्वाचन पछि पश्चगामी संविधान बन्ने कुरा स्थापित गर्ने षडयन्त्र भइरहेको उल्लेख गर्दै काँग्रेसले संघीयता, गणतन्त्र, लोकतन्त्र जस्ता विषय संशोधन हुन नसक्ने घोषणापत्रमै उल्लेख गरेको र सहमतिमै संविधान बनाउने भएकोले यस्ता कुराको पछि नलाग्न समेत थापाले आग्रह गरे ।

थापाले पार्टीको विधान अनुसार संसदीय दलको नेता प्रधानमन्त्री बन्ने भन्दै यस पटक काग्रेसले विगतको गल्तीबाट सिकेर यस विषयमा रडाको नमच्चाई सहज रुपमा सरकारको नेतृत्व टुङगो लगाउने दावी पनि गरे ।

स्पष्ट लेखिएको छ

राप्रपाका महामन्त्री विक्रम पाण्डेले अन्तरिम संविधानमै नयाँ संविधान बनेपछि मात्र राष्ट्रपतिको निर्वाचन हुने कुरा स्पष्टै लेखिएकोले संविधान विपरित गएर मुलुकले निकास नपाउने स्पष्ट पारे ।

उनले अहिले राष्ट्रपतिको निर्वाचन गरे एक वर्षपछि संविधान जारी गरेपछि फेरि राष्ट्रपतिको निर्वाचन गर्नु पर्ने भएकोले अहिले आवेशमा आएर कुनै पनि निर्णय लिन नहुने सुझाव दिए । उनले भने, ‘राष्ट्रपतिको कार्यकालको विषयमा अन्तरिम संविधानमा स्पष्ट व्यवस्था छ त्यसैले नयाँ संविधान बनेपछि सोही अनुसार राष्ट्रपतिको निर्वाचन गर्नु पर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us