
काठमाण्डु, २० मंसिर– काँग्रेस सभापति सुशील कोइरालाले एमाले अध्यक्ष झलनाथ खनाललाई भेटी राष्ट्रपति र उपराष्ट्रपतिको चयनवारे बखेडा नझिक्न आग्रह गरेका छन् ।
खनाल निवास डल्लु पुगेका कोइरालाले खनाललाई नयाँ संविधान बनेपछि मात्रै राष्ट्रपति र उपराष्ट्रपति फेर्नेबारे सोच्न सक्ने बताएका थिए । खनालसँगको भेटपछि कोइरालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस तत्काल नयाँ सरकार गठन गरी संविधान निर्माणको प्रक्रियामा जानुपर्ने पक्षमा छ । राष्ट्रपति, उपराष्ट्रपति लगायतका विषयमा अल्झिन नहुने उनको तर्क थियो ।
खनालले भने पार्टी स्थायी कमिटीले नयाँ जनादेश अनुसार नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन हनुपर्ने भन्दै जनताको म्यान्डेटलाइ सम्मान गर्नुपर्ने बताएका थिए । संविधान जारी गर्नुअघि नै राष्ट्रपति र उपराष्ट्रपति चयनको छिनोफानो हुनुपर्ने पक्षमा एमाले रहेको खनालले बताए ।