
काठमाण्डु,२० मङ्सिर–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले काँग्रेसले अवलम्बन गरेको खुला आर्थिक नीतिका कारण मुलुकको आर्थिक अवस्थामा सुधार आउन थालेको बताएका छन ।
कोइराला निवासमा बिहिवार भएको आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटमा उनले बढ्दो बेरोजगारी हटाउनका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । संविधान निर्माणका लागि सबै दलको सहभागिता उत्तिकै आवश्यक छ भन्दै उनले मुलुकको जिम्मेवार र जनताको प्रतिनिधित्व गर्ने पार्टीका रुपमा रहेका एमाओवादी र नेकपा–माओवादीको सहभागिता पनि संविधानसभामा आवश्यक रहेको बताए ।
सो अवसरमा काँग्रेस नेता डा रामशरण महतले सामाजिक क्षेत्रमा चमत्कारिक प्रगति गर्ने विश्वका तीन मुलुकमध्ये नेपाल पनि एक रहेको जिकिर गर्दै आफ्नै आन्तरिक स्रोतमा केही पनि गर्न नसक्ने नेपालमा अहिले ३६ अर्ब रुपैया लगानी रहेको माथिल्लो तामाकोसी आयोजनासमेत सञ्चालन गर्न सक्ने भइसकेको बताए । उनले अझै आर्थिक क्षेत्रको विकासका लागि विभिन्न योजना ल्याइने जानकारी पनि दिए । रासस