पूर्वयोजना तर्जुमा गोष्ठी अवरुद्ध

काठमाण्डु टुडे २०७० मंसिर २० गते २:०६ मा प्रकाशित

Jumla-Mapजुम्ला, २० मंसिर–जिल्ला विकास समिति जुम्लाले आर्थिक वर्ष २०७१÷७२ का लागि आयोजना गरेको पूर्वयोजना तर्जुमा गोष्ठी दलीय असहमतिका कारण अवरुद्ध भएको छ । जुम्लाका राजनीतिक दलहरुले यो वर्ष जुम्ला न्यूनतम सर्त मापनमा फेल हुनु, जिल्लाको विकासका लागि स्वयम् कार्यालय प्रमुख तथा कर्मचारीबाट पारदर्शी आर्थिक परिचालन नहुनु र दलहरुलाई वास्ता नगरिनुको कारण यसको सही तथा यथोचित निकास नआउन्जेलसम्म गोष्ठी आयोजना नगर्न दबाब दिएका छन् । राजनीतिक दलहरुको भेलाले नेपाली काँग्रेस जिल्ला कार्यसमिति जुम्लाका सचिव दयादत्त हमालको संयोजकत्वमा सर्वदलीय संघर्ष समिति गठन गरेको छ ।

स्थानीय विकास अधिकारी अर्जुनकुमार थापाले स्थानीय निर्वाचन नभएका कारण यी समस्या आएको औंल्याउँदै आफूले जहिले पनि दलहरुलाई साथमा लिएर काम गर्दै आएको दावी गरे । त्यसैगरी जिविस जुम्लाका कार्यक्रम अधिकृत क्षेत्रबहादुर बुडथापाले ३० वटै गाविसमा पाँचवर्षे आवधिक योजना तयार भइसकेको जानकारी दिए ।

स्थानीय विकास अधिकारी थापाले पूर्वयोजना तर्जुमा गोष्ठी गरी पुस मसान्तसम्म जिल्लाका ३० वटै गाविसको गाउँ परिषद्, माघसम्म इलाका परिषद् र फागुन मसान्तसम्म जिल्ला परिषद् सम्पन्न गर्ने उद्देश्यका साथ कार्य योजना तयार गरिएको बताउँदै दलीय असहमतिका कारण गोष्ठी कहिले गर्ने भन्नेमा अन्योलता सृजना भएको जानकारी बताए । आगामी दिनमा दलहरुको समन्वयबाट काम गर्ने अधिकारी थापाको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us