
निर्वाचन आयोगले सात दिनभित्र समानुपातिक सभासदको नाम सिफारिस गर्न आग्रह गरेपछि प्रमुख दुई दल छनौटको मापदण्ड बनाउने तयारीमा जुटेका छन्।
चुनावबाट सबैभन्दा ठूलो पार्टी बनेको नेपाली कांग्रेसले आफूले चुनाव हारेका जिल्लाबाट समेत प्रतिनिधित्व हुने गरी मापदण्ड बनाउने जनाएको छ।
त्यसको निम्ति दोश्रो ठूलो दल नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ।
पहिलो हुनेले जित्ने प्रणालीको मत परिणाम आए लगत्तैदेखि विभिन्न पार्टीका वरिष्ठ नेताहरुको काठमाण्डूस्थित निवास र कार्यालयमा भिडभाड बाक्लिएको छ।
त्यो भीडमा समानुपातिकबाट सभासद बन्न चाहने अनुहार पनि प्रशस्तै देख्न पाइन्छ।
त्यस्तो आकांक्षाका माझ कांग्रेसले आफूले पेश गरेको ३३५ जनाको सूचिबाट समावेशी हुने गरी ९१ जना सभासद छान्नु पर्नेछ।
कांग्रेसको सभासद छनौट गर्ने निकाय संसदीय बोर्डका सदस्य अर्जुन नरसिंह केसीले भने, “प्रत्यक्षमा हामीले नजितेका करिब २० जिल्लामा प्रतिनिधित्व हुने गरी महिला, आदिवासी-जनजाती, दलित, मधेसी सहितको सूचि तयार गर्नेछौं।”
कांग्रेसमा संसदीय बोर्डको सिफारिसलाई केन्द्रीय समितिले अन्तिम टुंगो लगाउने व्यवस्था छ।
नेकपा एमालेले समानुपातिक प्रणाली अन्तर्गत ८४ सीट पाएको छ।
एमाले सचिव युवराज ज्ञवालीका अनुसार स्थायी कमिटीको बैठकले बिहीवार सभासद छनौटको मापदण्ड तयार गर्नेछ।
उनले भने, “तयार गरिएको मापदण्ड अनुसार हामीले सभासदको नाममा छलफल गरी निर्वाचन आयोगले तोकेको समयभित्र नामवाली बुझाउँछौं।”
निर्वाचन आयोगले मंगलवार समानुपातिकतर्फको सीट बाँडफाँट गरी एक हप्ताभित्र नाम पठाउन दलहरुलाई आग्रह गरेको थियो।
तर चुनावी परिणामप्रति असन्तुष्ट एकीकृत माओवादी लगायत पार्टीहरुले आफ्ना शर्त पुरा नभएसम्म नाम नबुझाउने बताएका छन्।
चुनावमा धाँधली भएको भन्दै छानवीन आयोग गठन र सहमतिका आधारमा संविधान लेख्ने कुरा सुनिश्चित हुनु पर्ने उनीहरुको माग छ। BBC Nepali Service