निर्वाचनमा खटिएका कमचारीले पारिश्रमिक पाएनन्

काठमाण्डु टुडे २०७० मंसिर १९ गते २३:२९ मा प्रकाशित

भद्रपुर,२० मङ्सिर–झापाको दुई वटा मतदान केन्द्रमा फोटोसहितको अस्थायी मतदाता परिचयपत्र वितरण कार्यमा खटिएको चार जना सहायक कर्मचारीले नियमानुसार पाउनुपर्ने पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।
झापाको जलथल गाविस–४ स्थित दीपेन्द्र प्राथमिक विद्यालय ऐनाबारी मतदान केन्द्र (क) का मतदान अधिकृत गोविन्द मिश्र र सोही गाविस–५ मतदान केन्द्र (ख) का मतदान अधिकृत खगेन्द्र कार्कीले तत् मतदान केन्द्रमा खटिएका आफ्ना सहायक कर्मचारीलाई मतदाता परिचयपत्र वितरण गर्ने काममा लगाएपनि पारिश्रमिक पाउन नसकेको बताए ।election-card-distribution
गुनासो गर्ने कर्मचारीहरूमा सो मतदान केन्द्रका (क) का हेमराज लम्साल, दुर्गाप्रसाद ढकाल र (ख) का ओम प्याकुरेल र कमला खरेल रहेका छन् ।
गत कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सम्बन्धित मतदान केन्द्रमा गएर मतदाता परिचयपत्र वितरण गर्ने सहायकस्तरका कर्मचारीलाई निर्वाचन निर्देशिकाबमोजिम जनही रु एक हजारका दरले पारिश्रमिक दिनुपर्ने प्रावधान रहेको छ ।
ती दुई मतदान अधिकृतले निर्वाचन कार्यालय झापाबाट मतदान केन्द्रमा खटिएका कर्मचारी र मतदान कार्यका लागि आवश्यक सामग्री खरिद गर्न नियमानुसार पाउनुपर्ने रकम बुझेर लगे पनि अहिलेसम्म निर्वाचन कार्यालयमा बिल–भरपाई नबुझाएको जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us