जावलाखेल बाहिरियो, आर्मीलाई सहज

काठमाण्डु टुडे २०७० मंसिर १९ गते १४:२० मा प्रकाशित

Ncell-Cup-2070काठमाण्डु, १९ मंसिर– राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगितअन्तर्गत बुधबार भएको जाउलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल गोलरहित बराबरीमा सकियो ।

दशरथ रङ्गशालामा भएको समूह ‘ए’ को यो खेलमा निर्धारित समयमा दुवै टिमले कुनै गोल गर्न सकेन । यससँगै दुई खेल खेलेको जाउलाखेलले एक अङ्क जोड्दै प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।

जाउलाखेलको यो अवस्थाले भने त्रिभुवन आर्मी क्लबलाई अघिल्लो चरणमा प्रवेशका लागि केही सहज भएको छ । यस्तै एक खेल खेलेको सङ्कटाको भने एक अङ्क रहेको छ ।

अघिल्लो चरणमा प्रवेशका लागि संकटाले आर्मीलाई जित्नै पर्ने हुन्छ । अन्यथा आर्मी नै अघिल्लो चरणको लागि समूह ‘ए’ बाट छनोट हुनेछ । संकटाले आगामी २१ गते आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । एक खेल खेलेको आर्मीले ३ अङ्क जोडेको छ ।

प्रतियोगितामा जाउलाखेल युथ क्लबले खेलको दोस्रो हाफको ५० औँ मिनेटमा राम थापाले प्रहार गरेको बल संकटाका गोल रक्षक एनकोइ पिरेले पन्छाए । यस्तै खेलको दोस्रो हापको इन्जुरी समयमा प्रदीप महर्जनको पासलाई सदुपयोग गर्दै थापाले नै प्रहार गरेको बल बारमा लागेर फर्किनु नै जाउलाखेलको लागि दुर्भाग्य बन्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us