काँग्रेस र एमालेले भटाभट कार्यकर्ता निकाल्न थाले

काठमाण्डु टुडे २०७० मंसिर १९ गते १४:११ मा प्रकाशित

congress and umlसप्तरी, १९ मंसिर- संविधानसभा निर्वाचनको परिणामसँगै नेपाली काँग्रेस र नेकपा एमालेमा नेता तथा कार्यकर्तालाई निष्कासन गर्ने क्रम बढेको छ । निर्वाचनमा असहयोग गरेको भन्दै काँग्रेस र एमाले सप्तरीमा आफ्ना विभिन्न तहका नेता तथा कार्यकर्तालाई निष्काशन गर्ने क्रम चलिरहेको हो ।

काँग्रेसका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नं  ३ बाट प्रत्यक्षतर्फका उम्मेदवार रामकुमार चौधरीको पहलमा यही मङ्सिर १४ गते बसेको क्षेत्रीय कमिटीको समीक्षा बैठकले क्षेत्रीय सभापति रामकुमार यादवसहितका चार जनालाई कारबाही गरेको निर्णय सार्वजनिक भएपछि काँग्रेसभित्र एकअर्कालाई कारबाही गर्ने जुहारी नै सुरु भएको छ ।

चौधरीद्वारा सार्वजनिक गराइएको निर्णयमा ३ नं क्षेत्रीय सभापति रामकुमार यादव, राजविराज नगर सभापति शम्भुलाल देव, महाधिवेशन प्रतिनिधि अजित मिश्र र समिर झालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएपछि दुई पक्षबीच कारबाहीको होड चलेको हो ।

क्षेत्रीय सभापति यादवले उक्त निर्णयको तत्कालै प्रतिकार गर्दै आफूलगायतका चार जना कार्यकर्तालाई कारबाही गर्न सिफारिश गर्ने क्षेत्रीय कमिटीको निर्णय कपोलकल्पिकत र भ्रमपूर्ण रहेको आरोप लगाएका छन् ।  विधान विपरीत भएको निर्णय सार्वजनिक गर्ने केन्द्रीय सदस्य रामकुमारमाथि नै कारबाही गर्नुपर्ने उनको माग छ ।

काँग्रेस क्षेत्र नं ३ को लेटर प्याडमा क्षेत्रीय सभापति यादव र राजविराज नगर सभापति शम्भुलाल देवले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर १४ गते बोलाइएको समीक्षा बैठकमा मौखिक रुपमा विभिन्न मुद्दामा छलफल भएपनि कुनै पनि लिखित निर्णय नभएको तर सबैको उपस्थिति रहेको सो निर्णय पुस्तिका चौधरीले घर लगी आफूहरुलाई कारबाही गर्ने निर्णय लेखिएको आरोप लगाए ।

संगठनलाई आघात पुग्ने र बैठकमा उपस्थिति गराई घर लगेर निर्णय लेख्ने केन्द्रीय सदस्य चौधरीलाई कारबाही गर्नुपर्ने उनीहरुद्वारा जारी विज्ञप्तिमा माग गरिएको छ । यस विषयमा काँग्रेस सप्तरीका सभापति दिनेश यादवले गतल काम गर्ने कार्यकर्तालाई कारबाहीको सिफारिस गर्न विधानले नै उम्मेदवारलाई अधिकार दिएको जनाएका छन् ।

“विधानअनुसार गलत काम गर्ने कार्यकर्तालाई उम्मेदवारले तत्काल कारबाहीको सिफारिश गर्ने अधिकार छ,” यादवले भने, “सोहीअनुसार भएको हुनसक्छ ।”

यस्तै चुनावको मतपरिणाम सार्वजनिक भए लगत्तै एमाले सप्तरी क्षेत्र नं १ मा पनि नेता र कार्यकर्तालाई निष्कासनको क्रम सुरु भएको छ । चुनावमा असहयोग र अन्तर्घात गरेको आरोप लगाउँदै  मङ्सिर १० गते बसेको क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधि परिषद् सदस्य उषा पोखरेल र जिल्ला कमिटी सदस्य प्रकाश खतिवडालाई साधारण सदस्य समेतबाट निष्कासन गर्न माथिल्ला निकायलाई सिफारिश गरिसकेको क्षेत्रीय कमिटी अध्यक्ष बोधराज सुवेदीले जानकारी दिए ।

उनीहरुलाई कारबाही नगरे सामूहिक राजीनामा गर्ने धम्कीपूर्ण निर्णय सार्वजनिक गरेको क्षेत्रीय कमिटीले पार्टीका माथिल्ला निकायलाई दबाब दिन गाउँगाउँमा हस्ताक्षर सङ्कलन अभियानसमेत सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

एमाले जिल्ला कमिटी सप्तरीको सचिवालय बैठकले भने क्षेत्रीय कमिटीको निर्णयमाथि पुनःविचार गर्दै सत्यतथ्य पत्ता लगाउन उपाध्यक्ष अब्दुल मजिद साकिरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन आयोग गठन गरी प्रक्रिया अघि बढाएको छ ।

आयोगले दिएको प्रतिवेदनका आधारमा जिल्ला कमिटीले आवश्यक निर्णय गर्ने एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिए । एमाले शम्भुनाथ गाउँ कमिटीले समेत क्षेत्र नं ५ का उम्मेदवार गोविन्द न्यौपानेलाई असहयोग गरेको भन्दै राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष तथा केन्द्रीय सदस्य रामप्रित पासवान, पूर्व सांसद जगदीश साह र महेश चौधरीलाई कारबाहीको सिफारिस गरेको जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us