गर्भवती र नवजात शिशुबारेको सम्मेलन सकियो

काठमाण्डु टुडे २०७० मंसिर १९ गते १३:३२ मा प्रकाशित

mother and babyकाठमाण्डु, १९ मंसिर– गर्भवती महिला तथा नवजात शिशुको हेरचाहबारेको नवौं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । गर्भवती महिला तथा नवजात शिशु समाजद्वारा आयोजित सो सम्मेलनमा बेलायत, भारत, बंगलादेश, जापान र नेपालका स्त्री तथा प्रसूति विशेषज्ञ तथा बाल रोग विशेषज्ञ गरी करिब १७५ जनाको सहभागिता थियो ।

गर्भवती महिला र नवजाज शिशुको हेरचार सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने सो सम्मेलनमा विभिन्न विषयमा ५० वटा भन्दा बढी कार्यपत्र प्रस्तुत गरिएका थिए । समापन कार्यक्रममा समाजका संस्थापक अध्यक्ष डा. धर्मशरण मानन्धरद्वारा स्थापित ‘लाइफ टाइम एचिभमेन्ट एवार्ड’बाट वरिष्ठ स्त्री तथा प्रसूति विशेषज्ञ डा. सानुमैया दलीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री विद्याधर मलिकले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य समस्या हल गर्न नेपालका अति दुर्गम स्थानमा निःशुल्करुपमा कार्यरत हजारौं सामुदायिक स्वास्थ्य सहयोगी महिलाहरुको भूमिकाको प्रशंसा गरे ।

उनले स्वास्थ्य केन्द्रमा प्रसूति गर्न आउने महिलाका लागि सरकारले यातायात सुविधा दिने व्यवस्थालाई निरन्तरता दिँदै ‘न्यानो झोला’ नामक नयाँ कार्यक्रम ल्याएको जानकारी दिए । प्रसूतिपछि सरकारले सुत्केरी महिलालाई लाउन, बच्चा बेर्न न्यानो कपडा, टोपी, मोजा, पन्जा, पेटिभोटोसहितको न्यानो झोला दिने गरेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us