जनादेशअनुरुप अघि बढ्नुपर्ने नेतहरुका कुरा

काठमाण्डु टुडे २०७० मंसिर १९ गते १३:२३ मा प्रकाशित

cp mainaliकाठमाण्डु, १९ मंसिर– सत्ता र कुर्सीको खेल छाडेर संविधान निर्माणको दिशामा अघि बढ्नुपर्नेमा विभिन्न राजनीतिक दलका नेताहरुले जोड दिएका छन् ।

संवाद क्लबले आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताहरुले संविधान मुलुकको साझा दस्तावेज भएकाले सबै राजनीतिक दलको सहमतिमा राष्ट्रिय सरकार गठन गरी यसको  निर्माण गरिनुपर्ने बताए ।

समय खेर फाल्न नहुने

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले  अहिले राष्ट्रपति परिवर्तनको कुरा उठाएर समय खेर फाल्नु जनादेश विपरीत हुने भएकाले चाँडो संविधान जारी गर्नेतर्फ लाग्नुपर्ने बताए ।

उनले संविधान साझा दस्तावेज भएकाले यसमा सबैको सहमति चाहिने र त्यसका लागि ठूलो पार्टी भएको हैसियतले काँग्रेसले संविधानसभाभित्र र बाहिरका दललाई समेट्न पहल गर्ने बताए ।

राजिनामाको प्रश्नै छैन

नेकपा (माले) का महासचिव सिपी मैनालीले जनादेशअनुरुप सरकार बनाउने दायित्व ठूलो पार्टीको हैसियतले काँग्रेसको हुने बताउँदै उसले सकेसम्म सबै दलहरुलाई समेटेर लैजानुपर्ने र त्यसो हुन नसके बहुमतीय प्रणालीमा भएपनि सरकार बनाइनुपर्ने बताए ।

एक फरक प्रसङ्गमा महासचिव मैनालीले भने, ‘राष्ट्रपति परिवर्तनको कुरा असान्दर्भिक र संविधानतः असंवैधानिक रहेकाले उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने प्रश्नै छैन । यदि दलहरुले सहमति गरेको खण्डमा राष्ट्रपतिले स्वीकार गर्न पनि सक्नुपर्छ ।’

काँग्रेस र एमालेको काँधमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङले निर्वाचनको परिणामअनुरुप गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधर शक्तिलाई समेटेर लैजाने जिम्मेवारी काँग्रेस र नेकपा एमालेको काँधमा आएको बताए ।

नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधानसभा निर्वाचन धाँधलीपूर्ण भएकाले आयोग बनाएर छानबिन गरिनुपर्ने बताए ।

यो संविधानसभाबाट संविधान बन्दैनः गुरुङ

सोही कार्यक्रममा नेकपा–माओवादीका नेता देवप्रसाद गुरुङले अहिलेको प्रक्रियाबाट जनताको संविधान बन्न नसक्ने र सबै वर्ग र समुदायको समस्या सम्बोधन नहुने भन्दै अब नयाँ सिराबाट राष्ट्रिय मुक्ति र स्वाधीनताको लागि सडक आन्दोलन थाल्नुपर्छ भने ।

सर्वदलीय सहमति र गोलमेच सम्मेलन गरी नयाँ प्रकारको सहमति गरिनुपर्ने बताउँदै उनले भने, ‘एकीकृत नेकपा माओवादीसँग एजेन्डाका आधारमा सहकार्य हुनसक्ने भएपनि पार्टी एकताको कुनै संभावना छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us