
काठमाण्डु, १९ मंसिर– अन्तर पार्टी महिला सञ्चालले समानुपातिक तर्फबाट दलहरुले संविधानसभा सदस्यका लागि नाम सिफारिस गर्दा १० प्रतिशत थप गरेर सिफारिस गर्नु पर्ने माग गरेको छ ।
बुधवार पत्रकार सम्मेलन गरेर सञ्जालले समानुपातिक तर्फबाट एक सिट प्राप्त गर्ने दलले अनिवार्य महिला पठाउनुपर्ने, बिजोर संख्यामा सिट प्राप्त गर्ने दलले महिला निर्वाचित गर्नु पर्ने र नेपाल सरकारबाट मनोनित हुने २६ सिटमा ५० प्रतिशत अनिवार्य मनोनित गर्नु पर्ने माग पनि गरेको छ ।
पत्रकार सम्मेलनमा आफूहरुले शालिनतापूर्वक अगाडि सारेको मागलाई यथाशिघ्र सम्बोधन नगरेर बेवास्ता गरिए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको थियो । नेत्री कल्याणी रिजालले दलहरुले प्रत्यक्ष तर्फको निर्वाचनमा महिलाहरुलाई ठगेको दावी गर्दै आफूहरुले पटक पटक दल र सरकारको ध्यान आकर्षित गराएपनि वेवास्ता गरिएकोले आफूहरु आन्दोलनमा जान बाध्य हुने स्थिति आएको बताइन् ।
त्यस्तै नेत्री कल्पना धमलाले संविधानमा उल्लेख भए अनुसार राज्यका हरेक अंगमा ३३ प्रतिसत महिला सहभागिता सुनिश्चित हुन नसकेको भन्दै तत्काल सो विषय कार्यान्वयन गर्न माग गरिन् ।